काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले सुनसरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै रास्वपाले संयमित हुन सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
विज्ञप्तीमा भनिएको छ, ‘यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौं। रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरु लगायत सम्पूर्णलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न यसै विज्ञप्तिमार्फत् विशेष निर्देशन दिइन्छ।’

दोषीको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ।
‘ यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं’, विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी शान्ति, न्याय र सामाजिक सदभावको पक्षमा सदैव अडिग छ। परिस्थितिलाई सामान्य बनाउन र आपसी संवादमार्फत् समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीको तर्फबाट आवश्यक हरेक सकारात्मक भूमिका निर्वाह गर्न हामी निरन्तर छलफलमा रहेका छौं।’


