काठमाडौं । लामो समयदेखि सुस्त रहेको घरजग्गा बजारमा सुधारको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर घरजग्गाको कुल कारोबार रकम ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्ष घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा भने कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो।
चौथो त्रैमासमा कारोबार झनै बढ्यो
गत आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गा कारोबारमा थप तीव्रता देखिएको छ। उक्त अवधिमा कुल कारोबार संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, लिखत पारितअन्तर्गतको कारोबार संख्या १२.२८ प्रतिशतले र लिखत पारितअन्तर्गतको राजीनामा कारोबार संख्या २२.८८ प्रतिशतले वृद्धि भएको छ।
गत आर्थिक वर्षभर कारोबार भएको कुल क्षेत्रफल पनि १५.४१ प्रतिशतले बढेको छ। चौथो त्रैमासमा मात्रै २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँबराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कारोबार रकम १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो।
राजस्व र बैंक कर्जामा पनि वृद्धि
घरजग्गा कारोबारमा सुधार आएसँगै यस क्षेत्रबाट संकलन हुने राजस्वमा समेत वृद्धि भएको छ। गत आर्थिक वर्षमा घरजग्गा कारोबारबाट संकलित राजस्व ४८.२६ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर ६३.२२ प्रतिशतले वृद्धि भएको छ।
यसैगरी, आवासीय घरजग्गा कर्जासहित घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ६.९३ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ।
बागमतीमा कारोबार वृद्धि उच्च
प्रदेशगत विश्लेषणअनुसार आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा घरजग्गाको राजीनामा कारोबार संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै ६९.३८ प्रतिशतले बढेको छ। मधेश प्रदेशमा भने यस्तो कारोबार ३.४४ प्रतिशतले घटेको छ।
कारोबार भएको कुल क्षेत्रफल पनि बागमती प्रदेशमा सर्वाधिक ५०.२४ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा ६.१९ प्रतिशतले घटेको छ।
यद्यपि, कारोबारको कुल मूल्य भने सातवटै प्रदेशमा बढेको छ। कुल मूल्य वृद्धिमा बागमती प्रदेश १७५.३३ प्रतिशतसहित अगाडि छ भने मधेश प्रदेशमा ३९.९८ प्रतिशतको वृद्धि भएको छ।
जग्गाको आकारअनुसार सातवटै प्रदेशमा २.५ देखि १० आनासम्मका प्लटको कारोबार सबैभन्दा धेरै भएको प्रतिवेदनमा उल्लेख छ।
महानगरमा काठमाडौंको कारोबार दोब्बरभन्दा बढी
महानगरपालिका र उपमहानगरपालिकामा पनि घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ।
चौथो त्रैमासमा काठमाडौं महानगरपालिकाको कुल कारोबार संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५५.७४ प्रतिशतले बढेको छ। त्यस्तै, ललितपुर महानगरपालिकामा १३६.९२ प्रतिशत, पोखरा महानगरपालिकामा १०८.३९ प्रतिशत, भरतपुर महानगरपालिकामा ६३.०४ प्रतिशत, विराटनगर महानगरपालिकामा ४७.५९ प्रतिशत र वीरगञ्ज महानगरपालिकामा २९.१९ प्रतिशतले कारोबार बढेको छ।
कारोबार भएको कुल क्षेत्रफल र कुल मूल्य वृद्धिमा पनि काठमाडौं महानगरपालिका अगाडि रहेको छ। काठमाडौंमा कारोबार भएको क्षेत्रफल २०८.२२ प्रतिशत र कुल मूल्य २१७.४० प्रतिशतले बढेको छ।
उपमहानगरपालिकातर्फ कलैया बाहेक बाँकी सबै १० वटा उपमहानगरपालिकामा कारोबार संख्या बढेको छ। धनगढी उपमहानगरपालिकामा कारोबार संख्या सर्वाधिक ७३.१६ प्रतिशतले बढेको छ भने कलैयामा कारोबार संख्या स्थिर रहेको छ।
कारोबार भएको कुल क्षेत्रफल र कुल मूल्य वृद्धिका आधारमा हेटौँडा उपमहानगरपालिका अगाडि रहेको छ। हेटौँडामा कारोबार भएको क्षेत्रफल १०४.१६ प्रतिशत र कुल मूल्य १८६.८० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।


