काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी असोज २०८३ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको मागमा अपेक्षित सुधार नआएपछि बैंकहरूले निक्षेपको ब्याजदरमा सामान्य कटौती गरेका छन्।
असोज महिनामा व्यक्तिगत निक्षेपतर्फ २० वाणिज्य बैंकहरूको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशत कायम भएको छ। यो भदौ महिनाको ४.१३६ प्रतिशतको तुलनामा ०.०४६५ प्रतिशतविन्दुले कम हो।

त्यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर पनि घटेको छ। भदौमा ३.०८१ प्रतिशत रहेको यस्तो दर असोजमा ०.०१४५ प्रतिशतविन्दुले घटेर ३.०६६५ प्रतिशतमा झरेको हो।
एभरेष्ट बैंकको ब्याजदरमा सबैभन्दा ठूलो कटौती
असोज महिनाका लागि एभरेष्ट बैंकले निक्षेपको ब्याजदरमा सबैभन्दा ठूलो कटौती गरेको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ०.५५ प्रतिशतविन्दुले घटाएर ३.५ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपतर्फको दर पनि ०.२५ प्रतिशतविन्दुले घटाउँदै ३.२५ प्रतिशतमा झारेको छ।
त्यसैगरी, नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.३ प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपतर्फ भने बैंकले ३.०१ प्रतिशतकै दरलाई निरन्तरता दिएको छ।
अन्य बैंकमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको दर ०.०५ प्रतिशतविन्दुले घटाएर ३.७५ प्रतिशत बनाएको छ। कुमारी बैंकले पनि व्यक्तिगततर्फको ब्याजदर ०.०३ प्रतिशतविन्दुले घटाउँदै ३.७३ प्रतिशत कायम गरेको छ।
यस्तै, सिटिजन्स बैंकले संस्थागत निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएर २.७५ प्रतिशतमा झारेको छ।
सानिमाले संस्थागत निक्षेपको दर बढायो
ब्याजदर घटाउने क्रम चलिरहेका बेला सानिमा बैंकले भने संस्थागत निक्षेपको ब्याजदर बढाएको छ। बैंकले संस्थागततर्फको दर ०.२१ प्रतिशतविन्दुले वृद्धि गरी ३.५१ प्रतिशत पुर्याएको हो। व्यक्तिगत निक्षेपतर्फ भने बैंकले ४.५ प्रतिशतकै दरलाई निरन्तरता दिएको छ।
प्रभु बैंकको व्यक्तिगत निक्षेप दर सबैभन्दा बढी
असोज महिनामा व्यक्तिगत निक्षेपतर्फको अधिकतम ब्याजदरका आधारमा प्रभु बैंक ४.५५ प्रतिशतसहित अगाडि रहेको छ।
यसैगरी, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित कुल १५ वटा वाणिज्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। ती बैंकहरूले भदौ महिनाकै दरलाई असोजमा पनि निरन्तरता दिएका छन्।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहेको अवस्थामा कर्जाको माग कमजोर हुँदा बैंकहरूबीच निक्षेप आकर्षित गर्न ब्याजदर बढाउने दबाब कम देखिएको छ। यही परिस्थितिको प्रभाव असोज महिनाको औसत निक्षेप ब्याजदरमा पनि परेको देखिन्छ।


