काठमाडौं। नेपाली कांग्रेसको आइतबार खुलामन्चमा भएको महाधिवेशन उद्घाटन समारोहमा शीर्ष नेताहरुबीच घोचपेच भयो, खासगरी सत्तारुढ रास्वपा सभापती रवि लामिछाने र अन्य दलका नेताहरुबीच।
रविले उक्त कार्यक्रममा एक्लो प्रतिपक्षजस्तो महसुस भएको भन्दै सरकारमाथी भएका आलोचनात्मक टि प्पणीलाई संकेत गरेका थिए। त्यसअघि एमाले महासचिव शंकर पोखरेलले सरकारका कारण लोकतन्त्र खतरामा परेको र छिमेकीहरु समेत तर्सिएको भन्दै आन्दोलनका लागि एकजुट हुन आह्वान गरेका थिए।

यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार स्वेच्छाचारी बन्दै गएको उल्लेख गरेका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित अन्य दलका नेताहरुले समेत सरकारको कामकारबाही र प्रधानमन्त्री बालेनको कार्य शैलीलाई लिएर प्रश्न उठाएका थिए। त्यसपछि बोल्नेक्रममा रवि लामिछाने अघिल्ला वक्ताहरुमाथी खनिए, खासगरी एमाले महासचिव शंकर पोखरेलमाथी।
उनले लोकतन्त्रको ठेक्का कसैले नलिन आग्रह गर्दै आन्दोलन हैन जनताबाट जितेर आउन चुनौती दिए। राजनीतिक स्वार्थका लागि सुरक्षा निकाय र राज्यका निकायहरूलाई दोष लगाएर संस्था कमजोर नबनाउन आग्रह गरे। उनले कुनैपनि हालतमा सरकार नढल्ने र बालेन ५ वर्ष नै प्रधानमन्त्री हुने संकेत गरे।
रास्वपा नेतृत्वको सरकारले वैदेशिक नीति, अर्थतन्त्र र आन्तरिक लोकतन्त्रलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरे। सरकार र पार्टी सञ्चालनको स्पष्ट विभाजन गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले सरकार र सभापतिले पार्टी हेर्ने अभ्यास भइरहेको स्पष्ट पारे।




