काठमाडौं। नेपालका महिला र पुरुष दुवै टिम भारतमा जारी खो खो विश्वकपको फाइनलमा। यो हेडलाइनले एकाएक खो खो खेलले नेपाली खेलकुदमा पछिल्लो समय हाइप ‘क्रियट’ गरिरहेको छ।
मानिसहरु भन्दैछन्- ओहो विश्वकपको फाइनलमा। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ऐतिहासिक सफलता प्राप्त गरेको नेपालका महिला र पुरुष दुवै टिमलाई शुभकामना व्यक्त गरिसकेका छन्। त्यसो त विश्वकप हो, अनि नेपालका महिला र पुरुष दुवै टिम फाइनल पुगेको। यो सफलताले देशकै ध्यान तान्नु अस्वभाविक होइन। देशकै झन्डा फरफराइरहेको छ। तरपनि के फुटबल, क्रिकेट वा अन्य टिम गेम जस्तै विश्वस्तरमा निकै प्रतिस्पर्धात्मक रहेको खेल हो त खो खो ? अन्य खेलको विश्वकपमा पुग्न जति कठिन छ, त्यत्तिकै कठिन हो त खो खो खेलमा पनि ?

विश्वकप भन्नेवित्तिकै सक्किगो नी अरु के चाहियो भन्ने तपाईलाई लाग्न पनि सक्छ। खो खो भारतको परम्परागत खेल हो। भारतबाटै दक्षिण एसियामा फैलिएको मानिन्छ। विश्वलाई दक्षिण एसिया त्यसमा पनि भारतले यो खेल खेल्न सिकाउँदै छ भन्दा फरक नपर्ला। जहाँ जहाँ दक्षिण एसियालीहरु पुगे, त्यहाँ यो खेल खेल्न थालियो भन्दा फरक नपर्ला।
भारतले सन् १९८२ मा आफ्नै देशमा आयोजना भएको एसियन गेम्समा यसलाई प्रदर्शनी खेलका रुपमा समावेश गरेको थियो। ठुला प्रतियोगितामा आयोजकले आफ्ना रैथाने खेलहरुलाई समावेश गर्ने चलन छ जसरी १९८८ को ओलम्पिकमा दक्षिण कोरियाले तेक्वान्दोलाई प्रदर्शनी खेलका रुपमा समावेश गरेको थियो।
तर खो खोलाई मेडल गेम अर्थात अफिसियल गेमका रुपमा समावेश गर्न भारतले लामो समय संघर्ष गर्नुपर्यो। कतिसम्म भने दक्षिण एसियाली खेलकुदमै पनि खो खोलाई समावेश हुन लामो समय लाग्यो। सन् २०१६ मा भारतमै आयोजना भएको १२ औँ दक्षिण एसियाली खेलकुदमा घरेलु टोलीले खो खोलाई मेडल गेमकारुपमा समावेश गरेको थियो।
त्यतिबेला भारत, नेपाल र बंगलादेशले मात्र यो खेलमा प्रतिस्पर्धा गरेका थिए। महिला र पुरुष दुवैतर्फ भारतले स्वर्ण र बंगलादेशले रजत जितेको थियो। नेपाल तेस्रो तथा अन्तिम भएको थियो। सन् २०१९ मा नेपालमा आयोजना भएको तेह्रो दक्षिण एसियाली खेलकुदमा पनि खो खोलाई समावेश गरियो।
यसपटक पनि नेपाल, भारत र बंगलादेश र श्रीलंका सहभागी थिए। भारतले दुवै स्वर्ण जित्यो भने नेपालले महिलातर्फ रजत र पुरुषतर्फ कास्य हात पार्यो। पुरुषतर्फ रजत बंगलादेशले जितेको थियो।
यतिबेला भारत एसियन गेम्स र ओलम्पिकजस्ता प्रतियोगिता आयोजनाका लागि दावेदारी गरिरहेको छ। ती प्रतियोगितामा खो खोलाई समावेश गर्ने उसको लक्ष्य छ। तीन वर्षअघि भारतमा अल्टिमेट खो खो फ्रेन्चाइज प्रतियोगिता आयोजना भएको थियो। भारतले नियमित रुपमा राष्ट्रिय च्याम्पियनसिप पनि आयोजना गरिरहेको छ।
अब आऔँ अहिले भइरहेको विश्वकपमा। खो खो खेलको पहिलोपटक विश्वकप भइरहेको हो अनि त्यसको आयोजना भारत नै भइरहेको छ । खो खो अन्तर्राष्ट्रिय महासंघ र भारतीय खो खो संघले संयुक्त रुपमा प्रतियोगिता आयोजन गरिरहेका छन्। अझ भनौँ यो खो खोको अफिसियल विश्वकप हो। महिला र पुरुक्ष दुवै स्पर्धामा नेपाल र भारत फाइनल पुगेका छन्। यो विश्वकप पुरुषतर्फ २० र महिलातर्फ १९ देशले खेलिरहेका छन्। उनिहरुले कुनै छनोट प्रतियोगिता नखेली सोझै विश्वकपमा इन्ट्री पाएका हुन्।
खो खोलाई भारत विश्वव्यापी बनाउन र विश्वभर फैलाउन चाहन्छ। विश्वका धेरै देशले आफ्ना रैथानले खेललाई प्रवर्द्धन गर्न यस किसिमका प्रयाशहरु गरेको देखिन्छ। जस्तो की थाइल्यान्डले मुआ थाइलाई यसरी नै प्रवर्द्धन गर्ने प्रयाश गरिरहेको छ।
अब आऔँ सरकारले दिने पुरस्कार राशीतर्फ। कुनैपनि खेलका अन्तर्राष्ट्रिय महासंघले आयोजना गर्ने विश्वकपको टिम स्पर्धामा उपाधि जित्नेलाई जनहीँ ५२ लाख र रजत पदक जित्नेलाई जनहीँ ४५ लाख रुपैयाँ दिने खेलकुद नियमावलीमै उल्लेख छ। यस हिसाबले खो खो खेलाडीले कम्तिमा जनहीँ ४५ लाख रुपैयाँ प्राप्त गर्ने पक्का गरिसकेका छन्। तर नेपाल सरकारले के गर्छ त्यो भने हेर्न बाँकी छ।


