काठमाडौं – केवल तीन टोलीलाई पछाडि पार्नुपर्ने। त्यति गरे एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता एसियन कप खेल्ने पक्का।
तर के नेपालका लागि यो सम्भव छ ? मंगलबारदेखि सुरु हुने एसियन कपको तेस्रो चरणको छनोटमा नेपालको लक्ष्य के त ?
नेपाली फुटबल टोली यतिबेला मलेसियामा छ। एसियन कपको छनोटअन्तर्गत तेस्रो चरणको आफ्नो पहिलो खेल नेपालले मंगलबार मलेसियासग खेल्दै छ।
तेस्रो चरणमा ६ वटा समूह छन् । हरेक समूहमा ४ वटा टोली छन्। समूहको विजेता मात्र एसिया कप पुग्ने छ। नेपाल रहेको समूह एफमा लाओस र भियतनाम पनि छन्। यसको मतलब नेपाल, लाओस, भियतनाम र मलेसियामध्ये एक टोलीले एसिया कप खेल्ने छ।
नेपालले हालसम्म एसिया कप खेल्न सकेको छैन। विश्वकपको एसियाली छनोटको दोस्रो चरणबाट बाहरिएिका सबै टोलीले एसियन कपको तेस्रो चरणको छनोट खेल्दैछन्।
दोस्रो चरणमा नेपालले यमन, यूएई र बहराइनसग होम एन्ड अवे प्रणालीमा खेलेको थियो। नेपालले ५ खेल हारेको थियो भने एक खेल बराबरी खेलेको थियो। त्यसमा २ गोल गरेको थियो भने २० गोल ब्यहोरेको थियो। त्यसअघि पहिलो चरणमा लाओसलाई हराउदै नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो। नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्न लागेको यो पहिलो पटक होइन।
यसअघि सन् २०२३ मा पनि नेपाल तेस्रो चरणसम्म पुगेको थियो। त्यतिबेला कुवेतमा चार टोलीबीच प्रतिस्पर्धा भएको थियो। नेपालले जोर्डन,इन्डोनेसिया र कुवेतसग एक एक खेल खेल्नुपर्ने थियो। नेपालले सबै तीन खेल हा¥यो, १३ गोल खाँदा एक गोल मात्र फर्काउन सक्यो। ६ वटा समूहका विजेता र शीर्ष ५ उपविजेता टोली एसिया कपमा छनोट हुने थिए । बलिया टोलीहरु समूहमा रहेकाले नेपालको लक्ष्य समूह विजेता र उपविजेता त के तेस्रो स््थानका लागि सोच्नुपनि सजिलो थिएन।
समूह विजेता मात्र छनोट हुने भएकाले यसपटक कति गाह«ो छ भनेर पक्कै अनुमान लगाउन सक्नु हुने छ। तर अघिल्लोपटकभन्दा ठिक दोब्बर खेल खेल्ने अवसर यसपटक प्राप्त हुने छ। हरेक टोलीले होम एन्ड अवे आधारमा खेल्ने छन्। यसको मतलब नेपालले समूहमा ६ खेल खेल्ने छ र त्यसको समाप्तीमा शिर्षस्थानमा रहने टोली एसियन कप पुग्ने छ।
अब कुरा गरौ वरियताको
हाल विश्व फुटबल महासंघ फिफाको पछिल्लो वरियताक्रमका आधारमा भियतनामलाई सबैभन्दा बलियो टोली भन्न सकिन्छ। भियतनाम एक सय १४ औं स्थानमा छ। नेपाल एक सय ७५ औं, मलेसिया एक सय ३२ र लाओस एक सय ८६ औं स्थानमा छन्।
नेपालले हालसम्म मलेसियालाई हराउन सकेको छैन। अन्तिमपटक यी दुई टोली ठिक एक वर्षअघि मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा भिडेका थिए जुन खेल मलेसियाले ५–१ गोलले जितेको थियो। समिर तामाङले नेपालका लागि गोल गरेका थिए। मलेसियाविरुद्ध नेपालको त्यो ऐतिहासिक गोल थियो।
मलेसिया र नेपालबीच हालसम्म ६ पटक प्रतिस्पर्धा भएको छ। यता लाओसले हालसम्म नेपाललाई हराउन सकेको छैन। पछिल्लो एक दशकमा नेपाल र लाओसबीच ६ पटक प्रतिस्पर्धा भएको छ। यी खेलमा नेपालले ४ जित र दुई बराबरीको नतिजा निकालेको छ। भियतनामसग भने नेपालले हालसम्म खेलेको छैन।
एकपछि अर्को अनुभवी र प्रतिभावन खेलाडीहरु विदेशी रहेका बेला नेपाली फुटबल सम्हालिने प्रयाश गरिरहेको छ। अनन्त तामाङ, अन्जन विष्ठ, किरण चेम्जोङ, रोहित चन्दसहितका खेलाडीहरु जसरी पनि नेपालमै टिक्ने प्रण गरेर फुटबललाई उकास्न लागि परेका छन्। विभागीय क्लबमा रहेका जिलेस्पी जङ कार्कीसहित केही नया खेलाडीहरुको गतिलो आड नेपाली टोलीलाई छ। थप खेलाडीहरु विदेशीने त्रासबीच नेपालले हालै अफगानिस्तानविरुद्ध जित हात पारेको थियो। नेपालले अन्तर्राष्ट्रिय फुटबलमा ८ खेलपछि जितविहिन यात्रा तोडेको थियो। त्यसबीचमा नेपालले ७ खेल हारेको थियो भने एक खेल बराबरी खेलेको थियो।
नेपालले केही दिनअघि भएको मैत्रिपूर्ण खेलमा सिंगापुरलाई १–० गोलले हरायो। सिंगापुरमाथी नेपालको यो पहिलो जित थियो। वरियतामा आफुभन्दा १५ स्थान माथी रहेको टोलीलाई हराएर नेपालले आत्मविश्वास बलियो बनाएको छ। नवनियुक्त प्रमुख प्रशिक्षक म्याट रोसका लागि पहिलो खेल भएकोले उनले नेपाली फुटबलमा आशा जगाएका छन्।
नेपालले पहिलो खेलमा सामना गर्न लागेको मलेसिया पछिल्लो समय गतिलो प्रदर्शन गर्न सकिरहेको छैन। मलेसियाले खेलेका पछिल्ला ५ खेलमा केवल एक जित निकालेको छ भने तीन खेल बराबरीमा रोकिएको छ। अन्तिमपटक गत डिसेम्बरमा उसले सिंगापुरसग गोलरहित बराबरी खेलेको थियो।
यता लाओसले १० खेलयता जित हात पार्न सकेको छैन। यसबीचमा उसले ६ हार र चार बराबरीको नतिजा निकालेको छ। सन् २०२३ को मार्चमा भुटानलाई हराउदै लाओसले अन्तिमपटक जित हात पारेको थियो।
यता भियतनामको कुरा गने हो भने उसको प्रदर्शन बेजोड देखिन्छ। भियतनामले १३ खेलयता हार ब्यहोरेको छैन जसमा ११ जित र २ बराबरी समावेश छन्। हालै मात्र उसले आसियान च्याम्पियनसिपको उपाधि जितेको थियो।
नेपाली टोलीमा सधै देखिने समस्या भनेको गोलको खडेरी हो। सन् २०२३ को अक्टोबर यता नेपालले खेलेका १० खेलमा चार खेलमा मात्र गोल गरेको छ। त्यो पनि जम्मा ६ गोल। नेपालले पछिल्ला चारमध्ये तीन खेलमा गोल गरेको छ र तीन गोल गरेका प्रत्येक खेलमा एक गोल जिलेस्पीजङ कार्कीको नाममा छ। नेपाल आर्मीका यी अधिकृत यतिबेला लयमा देखिन्छन्। नयँ राष्ट्रिय कीर्तिमानको किनारमै रहेका अन्जन विष्टलाई आफ्नो नाममा एक गोल जोड्न सजिलो भइरहेको देखिदैन। विष्टले १७ महिनायता गोल गर्न सकेको छैन।
उनले अन्तिमपटक सन् २०२३ को सेप्टेम्बरमा लओसविरुद्ध गोल गरेका थिए। अन्जनले हालसम्म १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् र एक गोल गरे उनले नया राष्ट्रिय कीर्तिमान बनाउनेछन्। मनिष डागीले पनि नेपाली टोलीबाट गोल नगरेको १७ महिना भयो। नियमित रोजाईका खेलाडीहरु लामो समयसम्म गोल विहिन हुनु चिन्ताको विषय हो।
नेपाली टोलीका नवनियुक्त प्रशिक्षक म्याट रोस एसिया कप छनोट नेपाली टोलीलाई अनुभवका लागि एउटा गतिलो अवसर हुनेमा स्पष्ट छन्। उनले नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण सुरु गर्ने बेला आफ्नो मुख्य लक्ष्य साफ च्याम्पियनसिप जित्नु हुने बताएका थिए। दक्षिण एसियाको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको उपाधि नेपालले हालसम्म जित्न सकेको छैन।



