काठमाडौं। टी-२० महिला विश्वकपको एसियाली छनोटबाट लगभग बाहिरि सकेको अवस्थाबाट नेपाली टोली फर्किएको छ। नेपाली टोली सुपर लक्की देखिएको छ।
र, अब थाइल्यान्ड र यूएईमध्ये एक टोलीलाई मात्र पछाडि पार्न सके नेपालले विश्वकपको विश्वस्तरको छनोट खेल्ने छ। त्यो अवस्थामा नेपाली महिला क्रिकेटले एतिहासिक सफलता हात पार्ने छ किनभने नेपाली महिला क्रिकेट टोलीले अहिलेसम्म विश्वस्तरको छनोट खेल्न सकेको छैन।

थाइल्यान्डमा भइरहेको एसियाली छनोटमा नेपाल आफ्ना सबै चार खेल खेलेर ५ अंकसहित समूहको पहिलो स्थानमा थियो। समूहमा हङकङ र बहराइन पनि थिए। समूहबाट पहिलो हुने टोली मात्र सुपर-३ पुग्ने थियो।
तर हङकङ र बहराइनबीचको खेल बाँकी नै रहेकाले पहिलो स्थानमा रहेर पनि नेपाल ढुक्क थिएन। बहराइनलाई हङकङले हराएको अवस्थामा नेपाल बाहिरिने थियो। अनि त्यो सम्भावना पनि बलियो थियो। किनभने हङकङले नेपाललाई पनि हराइसकेको थियो। त्यति मात्र होइन बहराइन समूहकै सबैभन्दा कमजोर टोली थियो जसलाई नेपालले दुवैपटक हराएको थियो। त्यसैले नेपालको आशा एक मात्र थियो की यो खेल वर्षाका कारण रद्ध होस् र दुवै टोलीले अंक बाँढुन्।
भयो त्यस्तै। अर्थात नेपालको इच्छा पुरा भयो। बहराइन र हङकङबीचको खेल रद्ध भयो। दुवै टोलीले अंक बाँढे। नेपालसँग समान अंक भएर पनि हङकङ अगाडि बढ्न सकेन। नेटरनरेटमा मात्र नेपाल अगाडि थिएन सबैभन्दा बढी जित हात पार्ने टोली पनि नेपाल नै थियो।
यो प्रतियोगितामा समान अंक भएको अवस्थामा अगाडि बढ्ने टोली नेटरनरेटभन्दा पहिला कुन टोलीले धेरै जित हात पारेको छ त्यसका आधारमा टुंगो लगाइने भनिएको थियो। त्यसैले नेपाल सुपर लक्की सावित भयो। नेपालले खेलेका चार खेलमध्ये दुई खेलमा बहराइनलाई हराएको थियो। हङकङसँग भएको खेल खेलमा पराजित भएको थियो भने अर्को खेल वर्षाका कारण रद्ध भएको थियो। दुर्भाग्य नै भन्नुपर्छ हङकङले तीन खेल वर्षाका कारण रद्ध भएर अंक बाँढेको थियो। खेलेको एक मात्र खेल नेपालसँग थियो जसमा जित हात पारेको थियो।
सुपर-३ पुगेका टोलीमध्ये दुई टोली विश्वस्तरको छनोटमा पुग्नेछन्। नेपालले अब थाइल्यान्ड र यूएई दुवैसँग एक एक खेल खेल्ने छ।
लिग चरणमा जोडेको अंकसमेत जोडिने भएकाले थाइल्यान्ड र यूएईलाई केही फाइदा हुने छ। किनभने दुवै टोलीले पहिलो चरणमा ६/६ अंक जोडेका थिए। यद्यपी नेपालले यूएई र थाइल्यान्डमध्ये एक टोलीलाई हराउन सके विश्वस्तरको छनोटमा पुग्ने सम्भावना बलियो हुने छ।
त्यसमा पनि यूएईसँगको खेल नेपालका लागि सबैभन्दा महत्वपूर्ण हुने छ। थाइल्यान्ड लामो समयदेखि एसियाका एसोसियट महिला क्रिकेट टोलीमा सबैभन्दा बलियो रहँदै आएको छ त्यसैले उसले यूएईलाई पनि हराउन सक्छ भनेर अपेक्षा गर्न सक्छ। नेपालले विगतमा युएईलाई पटकपटक हराएकाले उससँग हुने खेलमा जितको अपेक्षा गर्न सकिन्छ।
विश्वस्तरको छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। तीमध्ये ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म विश्वकप त के विश्वकपको विश्वस्तरको छनोटसम्म खेल्न सकेको छैन। गत वर्ष नेपालले पहिलोपटक महिला यू-१९ विश्वकप खेलेको थियो। यस्तै एसिया कपमा पहिलोपटक जित हात पारेको थियो।


