काठमाडौं। अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा बस्दै आएको एक नेपाली परिवार मृत फेला परेको छ। ३८ वर्षीय सन्तोष परियार, उनकी ३६ वर्षीय श्रीमती अन्जु श्रेष्ठ तथा २ वर्षे छोरा र ८ वर्षकी छोरा मृत भेटिएको स्थानीय प्रहरीले जनाएको छ।
मनासस पार्कको समयअनुसार बिहीबार राती झन्डै साढे १० बजे घरबेटीले प्रहरीलाई खबर गरेका थिए। ग्राउन्ड फ्लोरमा बस्दै आएको परियारको परिवारभित्र कुनै घटना घटेको आशंका लागेपछि घरबेटीले तुरुन्तै प्रहरी बोलाएका थिए। प्रहरी आएर हेर्दा चारै जना गोली लागेर ढलिरहेको अवस्थामा फेला परेका थिए।

प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल पनि बरामद गरेको छ। स्थानीय प्रहरीले यो घटनालाई हत्या र त्यसपछि आत्म हत्याका रुपमा अनुमान गरेको छ। तर कसले हत्या गरेर आत्महत्या गर्यो भन्ने केही खुलाएको छैन।
परियारको परिवार ६ महिनाअघि मात्र त्यस घरमा डेरा सरेका थिए। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। यो घटना सुनेर अमेरिका र विश्वभर रहेका नेपालीहरु स्तब्ध भएका छन्।



