काठमाडौं। पहिलो खेलमा स्कटल्यान्डले २ सय ९७ रनको लक्ष्य दियो, लोअर अर्डर ब्याट्सम्यानले नेपाललाई जिताए। दोस्रो खेलमा पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स २ सय २५ रनमा अलआउट भयो, नेपाल ५ विकेटले विजयी भयो। तेस्रो खलमा स्कटल्यान्डले ३ सय २४ रनको लक्ष्य दियो।
नेपाली टिम अन्तिमसम्म लड्यो र केवल २ रनले पराजित हुन पुग्यो। मंगलबार राती नेदल्यान्ड्सलाई केवल २ सय ३७ रनको लक्ष्य दिएको थियो।

तर बलरहरुले शानदार प्रदर्शन गरे, कुनै समय जित्ने बलियो सम्भावना देखाएको नेदरल्यान्ड्स अन्तत २ सय २० रनमा अलआउट भयो र नेपालले १६ रनको जित हात पार्यो।
विश्वकप लिग-२ को स्कटल्यान्डमा भएको शृखलामा गरेको यही प्रदर्शन र निकालेको यही नतिजाले क्रिकेट प्रेमीहरु, विश्लेषकहरु भन्दैछन्- नेपालले क्रिकेटले आफुलाई अपग्रेड गरेछ, नयाँ प्रशिक्षक स्टुवार्ट लको एरा सुरु भएछ।
हुन पनि स्कटल्यान्ड जस्तो टफ प्लेइङ कन्डिसनमा गएर नेपालले शृंखलाका चार मध्ये ३ खेल जित्यो। जब की यो शृंखलामा साविक विजेतासमेत रहेको घरेलु टोली स्कटल्यान्ड र अंक तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्ससँग नेपालले खेल्नुपर्ने थियो।
अंक तालिकाको आठौँ तथा अन्तिम स्थानमा रहेर नेपाल स्कटल्यान्ड पुगेको थियो। यो शृंखलामार्फत नयाँ प्रशिक्षक स्टुवार्ट लले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि डेब्यु गर्दै थिए। नेपालले यसरी खेल्यो कि अंक तालिकामा कहाँ छ भनेर मानिसहरुले विर्सिए।
नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयता विदेशमा गएर यो लेभलको टिमविरुद्ध यो स्तरको क्रिकेट सायदै खेलेको थियो। भरपर्दा ब्याट्सम्यान आउट भएपनि सम्हालिएर खेल्नु, लोअर अडरले पनि राम्रो ब्याटिङ गर्नु, साझेदारी गरेर खेल्नु र हरेक खेलमा कुनै न कुनै ब्याटर चल्नु उल्लेख्य रह्यो।
बलरहरुमा पनि त्यस्तै देखियो। कुनै एक बलर चलेर खेल जितिएला भन्ने अवस्था रहेन। हरेक बलर म्याच विनर जस्ता देखिए।
सन्दीप लामिछाने, ललित नारायण राजबंशीदेखि पछिल्लो समय नियमित जसो बलिङ गरिरहेका कुशल भुर्तेल र मंगलबार डेब्यु गरेका नन्दन यादबसम्म, सबै बलरले नेपाललाई चाहिएको प्रदर्शन गरे।
नेदरल्यान्ड्सविरुद्ध मंगलबार भएको खेल अगाडि नै नेपाललाई केही झड्का लागेको थियो। नियमित तीन जना खेलाडी परिवर्तन भए। सोमपाल कामी र गुल्सन झा चोटका कारण खेल्न नसक्ने भए। आसिफ शेखको स्थानमा अनिल शाहलाई प्लेइङ सेटमा राखियो।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारति ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन जोडेको थियो। मध्यक्रमका आरिफ शेख एक्लैले ८४ रन बनाए। पाचौँ नम्बरमा उनी क्रिजमा आउँदा नेपालले एक सय ६ रन जोडेको थियो। त्यसपछि आरिफले दीपेन्द्रसिंह ऐरीसँग ३२, बासिर अहमदसँग २९, करण केसीसँग ३६ र नन्दन यादबसँग ३० रनको साझेदारी गरे।
नेपाललाई त्यसपछि अर्को झड्का लाग्यो। अम्पायरले १० रन पेनाल्टी सुनाए। त्यसको मतबल थियो-नेदरल्यान्ड्सको खातामा खेल सुरु नहुँदै १० रन जम्मा भइसकेको थियो।
डच टोलीले १० रनबाट खेल सुरु गर्दै थियो। बासिर अहमद नियमविपरित पिचमा दौडिएको भन्दै दुईपटक पेनाल्टी गर्दै १० रनको जरिवाना गरेका थिए। अर्थात अब नेदरल्यान्ड्सले ५० ओभरमा २ सय २७ रन बनाउनुपर्ने भयो।
नेदरल्यान्ड्सले पहिलो विकेट चौथो ओभरको दोस्रो बलमा २४ रन जोड्दा गुमाएको थियो। नन्दन यादबले डेब्यु खेलमै विकेट लिए। विस्फोटक म्याक ओदोदलाई उनले आउट गरे, ललितले क्याच लिएका थिए। नेदरल्यान्ड्सले दोस्रो विकेट ६५ रन जोड्दा गुमाएको थियो
। सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै माइकल लेविटको विकेट लिए। लेभिट एलबीडब्लु धरापमा परे। नेदरल्यान्ड्सले ९६ रन जोड्दा तेस्रो विकेटका रुपमा वेस्ली बारेस्सीलाई गुमायो। ललितको बलमा बारेस्सीलाई बासिर अहमदले क्याच आउट गराएका थिए।
लगत्तै सन्दीपले २ रनमा खेलिरहेका जाच लियोन क्याचेटलाई एलबीडब्लु धरापमा पारे। नेदरल्यान्ड्सले एक सय ३२ रन जोड्दा पाचौँ विकेटका रुपमा स्कट एडवार्डसलाई गुमाएको थियो, कप्तान र विकेटकिपर दुवै रहेका अनुभवी एडवार्ड्सलाई ललितले बोल्ड आउट गरे। चार रन लगत्तै सन्दीपले डच टोलीको छेटौँ विकेट झारेका थिए।
१७ रनमा खेलिरहेका मध्यक्रम ब्याट्सम्यान तेजा निदामनुरु सन्दीपको बलमा कप्तान रोहित पौडेलबाट क्याच आउट भएका थिए। तर नोआ क्रोएस र कायल क्लेइनले सातौँ विकेटका लागि गरिररहेको साझेदारी नेपालका लागि तनावपूर्ण बन्यो।
तर ३७ रनको साझेदारी भएपछि क्रोएसलाई कुलश भुर्तेलले एलबीडब्लु धरापमा पारे। रोलेफ भान डर मार्वे र क्लेइनका ठुला प्रहारले नेपालको तनाव कम भएको थिएन। अन्तिम चार ओभरमा नेदरल्यान्ड्सलाई ३३ रन चाहिएको थियो।
कप्तान रोहित पौडेलले बल नन्दन यातबलाई थमाए। एक दुईवटा ठुला प्रहारले पनि नेपाल दबाबमा आउन सक्थ्यो। तर ४७ औँ ओभरमा नन्दनले नेदरल्यान्ड्सको आशा नै लगभग समाप्त पारे। किनभने त्यस ओभरमा उननले २ विकेट लिए त्यसमा पनि क्लेइन र भान डर मार्वे दुवैलाई आउट गरे।
दुवै जना क्याच आउट भए। सन्दीपले ४८ औँ ओभरमा तीन र ४९ औँ ओभरमा नन्दनले १० रन खर्चिएपछि अन्तिम ओभरमा नेदरल्यान्ड्सलाई जितका लागि १८ रन चाहिएको थियो। करन केसीले अन्तिम ओभरको दोस्रो बलमा १० औँ विकेट झारे, आरिफ शेखले भान मिकेरेनलाई क्याच आउट गराए।
यो खेलमा सन्दीप , ललित, कुशलहरुले विकेट लिँदै, दबाब बढाउँदै जुन प्वाइन्टसम्म नेदरल्यान्ड्सलाई ल्याइ पुर्याएका थिए, साँच्ची नै खेल जित्नै नसक्ने झैँ अवस्था चाहीँ नन्दनले बनाएका थिए त्यही ४७ औँ ओभरमा।
केही समय अस्ट्रेलिया बसेका फास्ट बलर नन्दनको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु उल्लेख्य रह्यो। नेदरल्यान्ड्सजस्तो बलियो टोलीसँग उनले ९ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए।
नन्दनले खासगरी अनुभवी सोमपाल कामी घाइते भएका कारण मौका पाएका हुन्। करण केसी, सोमपाल कामी र गुल्सन झा नियमित टोलीमा रहेकाले नन्दनलाई अवसर पाउन गाह्रो भइरहेको थियो। नन्दनले यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने नेपालका लागि खेलिसकेका थिए। उक्त फर्म्याटमा उनले ४ खेलमा ६ विकेट हात पारेका थिए।
यो जितपछी नेपालको १६ खेलबाट १२ अंक भएको छ। पहिलो स्थानमा रहेको अमेरिकाको २० खेलबाट २८ अंक छ। नेदरल्यान्ड्सको २३ खेलबाट २६ अंक छ। स्कटल्यान्डको १९ खेलबाट २४ अंक छ। २० २० खेल खेलेका ओमानको २४ , क्यानडाको २० र नामिबियाको १४ अंक रहेको छ।
नेपालले विश्वकप लिग-२ को आगामी शृंखला आगामी अक्टोबरमा यूएईमा खेल्ने तालिका छ जहाँ नेपाल र यूएईसहित अमेरिकाले पनि प्रतिस्पर्धा गर्ने छ।

