काठमाडौं। ११ वर्षअघि बंगलादेशमा आयोजना भएको टी-२० विश्वकप विभिन्न कारणले नेपालका लागि ऐतिहासिक थियो। पहिलो त नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले खेलेको त्यो पहिलो विश्वकप थियो। तर पहिलोपटक विश्वकप खेलेको जस्तो फिल गराएन।
नेपालले पहिलो चरणमा हङकङ र अफगानिस्तानलाई हरायो। बंगलादेशसँग पराजित भएपछि नेटरनरेटमा पछाडि परेर सुपर-१० पुग्न सकेन। नेपालका लागि पहिलो टी-२० विश्वकप सहभागिता त्यत्तिमै सकिएन।

विश्वकप सकिएको तीन महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले एनुअल मिटिङबाट नेपाललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता दियो। सुपर एट पुगेर इङ्ल्यान्डलाई हराएको नेदरल्यान्ड्सलाई पनि टी-२० अन्तर्राष्ट्रिय मान्यता दिइयो। यो दुवै देशका लागि गिफ्ट जस्तै थियो।
अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो पहिलोपटक भएको थियो। त्यतिबेला आईसिसीका १० पूर्ण सदस्य थिए जोसँग टेस्ट मान्यता थियो। टेस्ट मान्यता भएपछि उनिहरुसँग स्वत एकदिवशिय र टी-२० अन्तर्राष्ट्रिय मान्यता पनि हुन्थ्यो।
आईसिसीले ६ वटा एसोसिएट र अफिलिएट सदस्यका लागि हरेक चार वर्षका लागि एकदिवशीय मान्यता दिने गर्थ्यो। कसरी मान्यता पाउने त्यसको स्ट्रक्चर स्पष्ट थियो। एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाउने एसोसिएट र अफिलिएट टोलीसँग टी-२० अन्तर्राष्ट्रिय मान्यता पनि स्वत हुन्थ्यो। टी-२० अन्तर्राष्ट्रियको मात्र मान्यता दिइने व्यवस्था थिएन।
तरपनि नेपालले पायो। त्यसको एउटा आधार के थियो भने पहिलोपटक टी-२० विश्वकप खेल्नेक्रममा नेपालले पहिलो चरणमा खेलेका तीनमध्ये दुई खेल जितेको थियो।
कहिल्यै हराउन नसकेको अफगानिस्तानलाई पहिलोपटक हराएको थियो। दोस्रो कारण नेपाली क्रिकेटको क्रेज थियो जसलाई आईसिसीले वेवास्था गर्न सकेन। नेपालले विश्वकप खेल्दा काठमाडौंका खुला ठाउँमा प्रोजेक्टर राखेर हजारौँ दर्शकले खेल हेरिरहेका तस्विरहरु वर्ल्ड वाइड भाइरल बनेका थिए।
क्रिकेटको फ्यान बेस आईसिसीले बुझेको थियो। त्यतिबेला नेपाली टोलीको कप्तान रहेका पारस खड्का अहिले नेपाल क्रिकेट संघ-क्यानको सचिव छन्। पारस खड्काले शनिबार राती सिंगापुरमा भएको आईसिसीको एनुअल कन्फेरेन्समा नेपालले चाँडै टेस्ट मान्यता प्राप्त गर्ने विश्वास व्यक्त गरे। त्यसै रात नेपाल लगातार दोस्रोपटक आईसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड जित्यो।
आफ्नो देशले खेलेका अन्तर्राष्ट्रिय खेलको प्रत्यक्ष प्रशारण हेर्न डिजिटेल प्लेटफर्मबाट उपस्थिती धेरै देखाउनेले यस्तो अवार्ड जित्छन्। यो अवार्डका लागि नेपाल सँधै बलियो दावेदार हुने पक्का छ। कारण भन्नै परेन। डिजिटल प्लेटफर्मबाट लाइभ हुँदा देखिने दर्शक नै काफी छन्। नेपाली क्रिकेटको क्रेज बुझ्न गत वर्ष अमेरिकामा भएको विश्वकपमा त्यहाँ देखिएका नेपाली दर्शकलाई हेरे पुग्छ। उखान नै छ- चन्द्रमा नेपालले खेले पनि त्यहाँ नेपाली दर्शक पुग्छन्।
तर के यी दर्शक र यी अवार्डले मात्र टेस्ट मान्यता पाउन सम्भव छ ?
सन् २०१४ को टी-२० विश्वकपपछि नेपालले दुई वर्षसम्म अर्थात अर्को टी-२० विश्वकप नहुदासम्मका लागि टी-२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। विश्वकपमा पुन छनोट नभएपछि जोगिएन। सन् २०१८ मा नेपालले पहिलोपटक एकदिवशीय अन्तराष्ट्रिय मान्यता पायो। त्यो चार वर्षका लागि थियो। त्यसै वर्ष आईसिसीले आफ्ना सबै सदस्यलाई टी-२० अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गर्यो सँधैका लागि।
एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता भएपछि नेपालले टेस्ट टोलीहरुसँग बाइल्याटरल सिरिजका लागि एप्रोच गर्न सक्थ्यो तर उनिहरुले पनि चाहनु पर्थ्यो। नेपालले कुनैपनि टेस्ट राष्ट्रसँग बाइल्याटरल सिरिज खेल्न सकेन। अनि बल्लबल्ल फेरी एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगायो अर्को चार वर्षका लागि। धेरैले यो असम्भव जस्तै ठानेका थिए।
पछिल्लो एक डेढ वर्षमा नेपालले पहिलोपटक एसिया कप खेल्यो, एसिसि प्रिमियर कप जित्यो, टी-२० विश्वकप पनि खेल्यो। हालै भएको विश्वकप लिग-२ शृंखलामा हाल एसोसियटको वरियतामा सबैभन्दा माथि रहेका स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई पनि हरायो। अब के यसले टेस्ट मान्यता प्राप्त गर्न आधार तयार गर्छ त ?
एक छिन प्राविधिक विषयबारे बुझौँ। टेस्ट ५ दिनको हुन्छ र एउटा टिमले दुईवटा इनिङ्स खेल्छ। टेस्ट क्रिकेटमा खेल बराबरी हुने सम्भावना पनि धेरै हुन्छ। आईसिसीले कम्तिमा तीन दिनसम्म चल्ने र एउटा टिमले दुईवटा इनिङ्स खेल्ने फर्म्याटलाई फस्ट क्लास क्रिकेट भन्छ।
लामो समय आईसिसीका १० वटा टेस्ट मान्यता प्राप्त टिम थिए। टेस्ट खेल्न सक्ने खेलाडीहरु तयार गर्न ती फस्ट क्लास फर्म्याटको घरेलु प्रतियोगित आयोजना गर्थे।
यता आईसिसीले एसोसिएएट टोलीलाई पनि भविस्यमा टेस्ट मान्यता प्राप्त गर्ने हैसियतमा तयार गर्न फोर डे फम्याटरको फस्ट क्लास क्रिकेटका रुपमा इन्टर कन्टिनेन्टल कप आयोजना गर्यो। सन् २००४ देखि २०१७ सम्म यो प्रतियोगिताका ७ वटा एडिसन आयोजना भए।
नेपालले सन् २००५ पछि यो प्रतियोगिता खेल्न सकेन। पछिल्ला ६ संस्करणमा आयरल्यान्ड ४ र अफगानिस्तान २ पटक विजेता बने। पछिल्ला दुई संस्करणमा आयरल्यान्ड र अफगानिस्तान एक एकपटक विजेता बने। दुवै टोली एक एक पटक उपविजेता पनि बने। अर्थात आयरल्यान्ड र अफगानिस्तानबीच मात्र एसोसिएट टोलीले मात्र खेल्ने यो फस्ट क्लास क्रिकेट कसले जित्ने लामो समय संघर्ष चल्यो। आईसिसीले आयरल्यान्ड र अफगानिस्तानलाई सन् २०१७ मा टेस्ट मान्यता दिने निर्णय गरेको थियो। अब आईसिसीका टेस्ट मान्यता पाउने टोली १२ पुगेका थिए।
आयरल्यान्ड र अफगानिस्तानका अन्य लोभलाग्दा सफलता पनि थिए। जस्तो आयरल्यान्ड लगातार टी-२० विश्वकप खेलिरहेको थियो सन् २००७ मा आयोजना भए पहिलो संस्करणदेखि नै। यता अफगानिस्तान पनि सन् २०१० देखि लगातार टी-२० विश्वकप खेलिरहेको थियो।
यस्तै एकदिवशीय विश्वकपमा पनि आयरल्यान्ड सन् २००७ देखि लगातार तीन वटा संस्करणमा सहभागी भइरहेको थियो सन् २०१५ सम्म। अफगानिस्तान पहिलोपटक सन् २०१५ को एकदिवशीय विश्वकपमा सहभागी भएको थियो। अर्को उल्लेखनीय कुरा थियो भने दुवै टोलीले टेस्ट मान्यता प्राप्त गर्ने टोलीहरुलाई हराइसकेका थिए।
जस्तो की अफगानिस्तानले वेस्ट इन्डिज, जिम्बावे तथा आयरल्यान्डले पाकिस्तान, इङ्ल्यान्ड, बंगलादेश, वेस्ट इन्डिज, जिम्बावेजस्ता टेस्ट टोलीलाई हराएको थियो। यहाँ जोड्न खोजेको के भने त्यति सजिलै अफगानिस्तान र आयरल्यान्डले टेस्ट मान्यता प्राप्त गरेका थिएनन्।
त्यसकै धेरै आधार र कारणहरु थिए। ५ दिनको क्रिकेट खेल्न सक्ने र अन्य टेस्ट राष्ट्रलाई हराउन सक्ने क्षमता अपेक्षा गरिन्छ- टेस्ट मान्यता पाउने देशहरुबाट। हामी देख्न सक्छौँ। सन् २००० मा टेस्ट मान्यता पाएको बंगलादेशसहित आयरल्यान्ड र अफगानिस्तान टेस्ट क्रिकेटमा लगातार संघर्ष गरिरहेका छन्। बेलाबखत उनिहरुलाई किन टेस्ट मान्यता दिइयो भनेर प्रश्न पनि उठाउने गरिएको छ।
हरेकपटक एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाउन संघर्ष गरिरहेको, एकपटक पनि एकदिवशीय विश्वकप नखेलेको, टेस्ट मान्यता प्राप्ट टोलीलाई अझैसम्म हराउन नसकेको र फस्ट क्लास क्रिकेटमा अभ्यस्त नभएको नेपालबाट तपाई कहिलेसम्म टेस्ट मान्यताको अपेक्षा गर्नु हुन्छ ? यसलाई तपाईसँगै छाडेँ।
टेस्ट मान्यता कति ठुलो अवसर र सफलता हो भने हालसम्मको अभ्यास र प्रावधानलाई हेर्यौँ भने एकपटक प्राप्त गरेपछि सँधैका लागि भयो। एकदिशवीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यताका लागि पनि संघर्ग गरिरहनु पर्दैन। त्यसबाहेक आईसिसीबाट आउने रकम अर्को मोटिभ हो। आईसिसीका सबै टेस्ट मान्यताप्राप्त देशसँग नियमित खेल्ने अवसर पनि प्राप्त भइरहन्छ। यो त भयो टेस्ट मान्यता पाएपछि के पाइन्छ वा के हुन्छ भन्ने कुरा।
यदी नेपालले टेस्ट मान्यताको लक्ष्यलाई चाँडै पुरा गर्ने हो भने त्यसका लागि फस्ट क्लास क्रिकेटको घरेलु संरचना बलियो बनाउनु पर्छ। गत वर्ष जय ट्रफीका रुपमा यो सुरुवातजस्तो पनि भएको छ। तर यतीले मात्र पुग्दैन। अर्को कुरा सन् २०१७ पछि बन्द भएको आईसिसीका एसोसिएट टोली मात्र खेल्ने फस्ट क्लास क्रिकेट इन्टर कन्टिनेन्टल कप वा त्यस्तै प्रतियोगिता सुचारु हुनुपर्छ जसले नेपालजस्ता एसोसिएट टोलीलाई टेस्ट खेल्न तयार गर्छ।
त्यसबाहेक टी-२० र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नियमित विश्वकप सहभागिता र टेस्ट टोलीलाई हराउन सके त्यसले दबाब सृजना गर्न सक्छ।
नत्र नेपाली क्रिकेट समर्थक र यहाँको क्रिकेट क्रेज देखेर मात्र टेस्ट मान्यता पाइएला भन्ने कम्तिमा मलाई चाही लाग्दैन। एकदिवशीय र टी-२० मान्यता पाए वा दिए जस्तो हुँदै होइन टेस्ट मान्यता। तपाईलाई के लाग्छ। कमेन्टमा लेख्न नभुल्नु होला।



