काठमाडौं। पछिल्लो दुई सातामा ४ खर्ब २६ अर्ब रुपैयाँभन्दा बढीले उकालो लागि सक्यो सेयर बजार। र सेयर बजार ओरालो झर्न पटक्कै मानिरहेको छैन। हो तपाई सहि सुन्दै हुनुहुन्छ। नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरुको सेयर मुल्य पछिल्लो दुई सातामा मात्र ४ अर्ब रुपैयाँले बढेको छ।

यो सुन्दा तपाईलाई पक्कै लागिरहेको होला-दुई साता अघि सेयर किनेको भए मस्त पैसा कमाइने रहेछ। बजार बढिरहेका बेला सबैलाई यस्तै लाग्छ।
दुई साता अघि असार २७ गते नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले सेयर बजारका लगानीकर्ताहरु हौसिएका छन्। उनिहरुको यहि जोशले बजार प्राय लगातार हरियाली बनिरहेको छ।
मौद्रिक नीति आउनुभन्दा अघिल्लो दिन मार्केट क्यापिटलाइजेसन ४५ खर्ब ५१ अर्ब ५७ करोड थियो। बिहीबार बजार बन्द हुँदा मार्केट क्यापिटलाइजेसन ४९ खर्ब ७७ अर्ब ४ करोड छ। तपाईले पक्कै हिसाब निकालि सक्नु भयो।
यसबिचमा सेकेन्डरी मार्केटमा दुईवटा कम्पनी सुचिकृत भए। कारोबार सुरु भएको एक सातामा उनिहरुको मार्केट क्यापिटलाइजेसन झन्डै १० अर्ब रुपैयाँ छ।
यो साता पाचैँ दिन सेयर बजार उकालो लाग्यो। पछाडि फर्कन मानेन। पछाडि फर्कन मानेन किन भनेको हो भने घट्ला घट्ला भन्दा भन्दै अलिकतिले भएपनि हरेक दिन सेयर बजार बढ्यो। यो सातामा मात्र मार्केट क्यापिटलाइजेसन झन्डै २ खर्ब रुपैयाँले बढेको छ।
समग्रमा लगातार ८ औँ दिन बजार बढेको छ।
दोस्रो बजारमा सुचिकृत भएका कम्पनीको सेयर मुल्य कसरी बढिरहेको छ भन्ने एउटा यो बलियो प्रमाण हो। यसअघि मौद्रिक नीति आउनुभन्दा केही समय अघिदेखि बजार हरियाली हुन थालेको थियो। असार १५ गतेयता सेयर बजारमा जम्मा तीन दिन मात्र बजार घटेको छ भने १७ दिन बजार बढेको छ।
असार १४ गते मार्केट क्यापिटलाइजेसन ४३ खर्ब २४ अर्ब रुपैयाँ थियो। झन्डै तीन सातामा बजारको आकार साढे ६ खर्ब रुपैयाँले बढेको छ। यो भनेको सुचिकृत कम्पनीको सेयर मुल्य दुई साता अघिको तुलनामा भारी मात्रामा बढेको संकेत गर्छ। तर यसले सबै कम्पनी वा समूह त्यसरी बढेका छन् भन्ने अर्थ लगाउन चाहीँ मिल्दैन।
पछिल्लो समय सेयर बजार परिसूचक नेप्सेमा घटेका कम्पनी बढेकाभन्दा धेरै संख्यामा देखिएपनि सेयर बजार ओरालो लागेन। अघिल्लो बिहिबार सेयर बजार २ हजार ८ सय ७० दशमलब ६३ विन्दुमा बन्द भएको थियो। त्यस दिन ७५. ८४ अंकले बढेको थियो।
एक सातापछि बिहीबार नेप्से ३ दशमलब ७६ अंकले बढेर २ हजार ९ सय ६३ दशमलब ७९ विन्दुमा पुगेको छ। अर्थात ५ कारोबार दिन र समग्रमा एक सातामा नेप्से एक सय ७ अंकले बढेको छ।
यो साता पहिलो दिन ०.३२ अंकले बजार बढेको थियो। करेक्सन होला की भन्ने आशंकाबीच अन्तिम समयमा बजार हरियो बनेको थियो। सोमबार झन्डै २२ अंकले बढेको नेप्से मंगलबार करिब ८१ अंकले उकालो लाग्यो। यसपछि अब चाहीँ करेक्सन होला की भन्ने थियो। बजार त्यसका लागि तयार देखिएन। त्यसयता सानै अंक भएपनि हरियाली भएरै दुवै दिन बजार बन्द भयो।
बजार जसरी घट्न मानिरहेको छैन, यसले लगानीकर्ताको आत्मविश्वास बलियो बनाएको छ। एकछिन यो साता भएको कारोबार रकम, खरिद विक्री भएका सेयरबारे कुरा गरौँ।
गत आईतबार सेकेन्डरी मार्केटमा करिब २१ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यस दिन करिब ४ करोड ९ लाख सेयर खरिद विक्री भएका थिए। मंगलबार भारी अंकले बजार बढ्दा १९ अर्ब १० करोड रुपैयाँको कारोबार भएको थियो। त्यस दिन ३ करोड ७९ लाख सेयर खरिद विक्री भएको थियो।
बिहीबार ३ करोड ४८ लाख सेयर खरिद विक्री भएका छन्।
असार २७ गते नेपाल राष्ट्र बैंकले मौद्रिक निति सार्वजनिक गरेपछि सेयर बजार उकालो लागिरहेको छ। त्यसयता १० दिन सेयर कारोबार भएकामा केवल एक दिन मात्र बजार घटेको छ। मौद्रिक नीति आएपछि दोस्रो कारोबार दिन बजार करिब ३५ अंकले घटेको थियो। त्यसयता एक दिन पनि बजार घटेको छैन।
बिहीबार सबैभन्दा बढी सेयर मुल्य प्रतिशतको हिसाबले ग्रिन भेन्चर्स लिमिटेड, ट्रेड टावर, सान्वी इनर्जी र स्वेत गंगाको बढ्यो। सबैको पोजेटिभ सर्किट लेभलमा कारोबार भयो। यो साता झन्डै एक सय ५ रुपैयाँले बढेको ग्रिन भेन्चर्सको सेयर मुल्य ५ सय ४१ रुपैयाँ १० पैसा छ। ट्रेड टावरको आइतबारदेखि सेकेन्डरी मार्केटमा कारवोबार सुरु भएको हो। लगातार पोजेटिभ सर्किट लेभलमा कारोबार भइरहेको ट्रेड टावरको सेयर मुल्य ६ सय ४८ रुपैयाँ २० पैसा छ।
यस्तै यो साता ४८ अंक बढेको स्वेत गंगाको बजार मुल्य ४ सय ६२ रुपैयाँ ७० पैसा रहेको छ। सान्भीको गत सोमबारदेखि कारोबार सुरु भएको हो। लगातार पोजेटिभ सर्किट लेभलमा कारोबार भइरहेको सान्वीको सेयर मुल्य ५ सय ७७ रुपैयाँ ९० पैसा छ।
बिहीबार झन्डै ६ प्रतिशत मुल्य बढेको ङादी ग्रुप पावर लिमिटेडको सबैभन्दा बढी सेयर विक्री भयो। कारोबार रकममा भने ङादी दोस्रो स्थानमा रह्यो। यो साता ३५ रुपैयाँ बढेको ङादीको सेयर मुल्य ४ सय ४६ रुपैयाँ ५० पैसा रहेको छ।
बिहीबार झन्डै ७ प्रतिशत मुल्य बढेको राधी विधुत् कारोबार रकमको हिसाबले पहिलो स्थानमा रह्यो। यो साता राधीको सेयर मुल्य ३८ रुपैयाँले बढेर ८ सय ७० रुपैयाँ पुगेको छ।
झन्डै ४ प्रतिशत मुल्य बढेको लुम्बिनी विकाश बैंक, पोजेटिभ सर्किट लागेको ग्रिन भेन्चर्स र एक प्रतिशतभन्दा बढीले घटेको हिमालयन रि इन्सुरेन्स सर्वाधिक सेयर कारोबारको हिसाबले शीर्ष ५ स्टक बने।
लुम्बिनी विकाश बैंकको सेयर मुल्य यो साता झन्डै ८२ रुपैयाँले बढेर ५ सय ७३ पुगेको छ। यो अवधिमा ग्रिन भेन्चर्सको सेयर मुल्य ४ सय ८७ बाट ५ सय ९५ पुगेको छ।
बिहीबार एक दशमलब २७ प्रतिशतले घटेको हिमालयन रि इन्सुरेन्सको सेयर मुल्य यो साता करिब ९४ रुपैयाँले बढ्यो। अहिले हिमालयन रि इन्सुरेन्सको सेयर मुल्य एक हजार ६७ रुपैयाँ छ।
सधै झैँ अहिले पनि हाइड्रो पावरमा लगानीकर्ताहरु झुम्मिरहेका छन्। लाइफ इन्सुरेन्स, फाइनान्सहरुमा पनि लगानीकर्ताको आकर्षण देखिइरहेको छ।
यतिबेला सेयर लगानीकर्ता कन्फ्युज छन् – नेप्से कतिसम्म पुग्दा चाहीँ हामी ढुक्क हुने? बजार कहाँसम्म पुगेर रोकिन्छ ?
नेपालमा नेप्से ३ हजार १ सय ९८ दशमलब ६ विन्दुसम्म पुगेको इतिहास छ। यो सन् २०२१ अगस्टतिरको कुरा भयो। ५ वर्ष भयो यो विन्दु विट भएको छैन। त्यतिबेला राष्ट्र बैंकले सेयर कर्जा सम्बन्धी ल्याएको एउटा नीतिले नेप्से प्रभावित बन्यो। लगानीकर्ताहरु चिन्तामा डुबे। व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडसम्म मात्र सेयर कर्जा लिन पाइने नीति ल्याइएको थियो। त्यसैले लगानीकर्ताले आफ्नो पोर्टफोलियोअनुसार भनेजति पैसा बैंकबाट पाउन सकेनन्।
अहिले राष्ट्र बैंकले सेयर बजार फ्रेन्ड्ली नीति ल्याएको छ। सेयर धितो कर्ताको सिमा व्यक्तिगतर्फ २५ करोड रुपैयाँ पुग्नु, बैंकको ब्याजदर घट्नुलाई यतिबेला सेयर बजार बढ्नुका मुख्य कारण मानिएको छ।
बजारले अब कुन दिशा लिन्छ ? हरियाली नै कायम रहन्छ की घट्छ ? पक्कै खुल्दुली भइरहेको हुनुपर्छ।


