काठमाडौं। बझाङका २६ वर्षीय रविन्द्र धान्तले शनिबार राती भारतको उत्तर प्रदेशस्थित नोयडामा जितेको एक मिक्स मार्सल आर्टस अर्थात एमएमए प्रतियोगिताले यतिबेला सर्वत्र चर्चा पाइरहेको छ।
म्याट्रिक्स फाइट नाइटको १७ औँ संस्करणअन्तर्गत बेन्टमवैट क्याटोगोरी जितेर रविन्द्रले नेपाली एमएमए इतिहासमा कीर्तिमान रचेका छन्। बेन्टमवैट भनेको ५७ देखि ६१ केजी तौल समूहको प्रतिस्पर्धालाई जनाउँछ। रविन्द्र धान्तले गरेको प्रतिस्पर्धा र उनले प्राप्त गरेको सफलताले आइतबार सामाजिक सन्जाल रंगिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसम्मले बधाई दिएका छन्। म्याट्रिक्स फाइट नाइटको इतिहासमा कुनैपनि नेपाली खेलाडीले हालसम्म उपाधि जित्न सकेको थिएन। तपाईहरु धेरैलाई लाग्न सक्छ- हैन यो म्याट्रिक्स फाइट नाइट भन्ने प्रतियोगिता एक्कासी कहाँबाट आयो ? के हो मिक्स मार्सल आर्टस गेम ?
हामीले प्रोफेसनल बक्सिङ त पक्कै सुनेका छौँ। त्यसमा पनि माइक टाइसनको नाम नसुन्नेहरु कमै होला। कुनै समय थियो प्रोफेसनल बक्सिङ विश्वमा निकै चर्चामा थियो। यस्ता प्रतियोगितामा खेलाडीले मनग्गे पैसा कमाउँछन्, दर्शकहरुले भरपुर आनन्द लिन्छन्
खेलाडीहरु ज्यानको प्रवाह नगरी खेल्छन् किनभने त्यसैले दर्शकलाई मज्जा दिन्छ। आफु बलियो हो भन्ने पुष्टी गर्न अपोनेन्टको ज्यानको वास्ता नगरी आक्रमण गर्छन्। यस्ता प्रतियोगिताहरु जब खेलाडीले जित्छन् अनि उनिहरुको देशको नाम आउँछ। किनभने व्यावशायीक प्रतियोगिता भएकाले खेलाडीले आफ्नै स्तरमा तयारी गर्छन्, खेल्ने नखेल्ने निर्णय उनिहरुको आफ्नो हुन्छ। यस्ता प्रतियोगिता आयोजना गर्ने थुप्रै संस्थाहरु छन्- स्थानीयदेखि ग्लोबल स्टेजसम्म
पछिल्लो समय मिक्स मार्सल आर्टसले लोकप्रियता कमाइरहेको छ। जसरी प्रोफेसननल बक्सिङमा खेलाडीले बक्सिङका नियमको दायरामा रहेर खेल्छन्। मिक्स मार्सल आर्टसमा विभिन्न मार्सल आर्टस गेममा प्रयोग हुने शरिरका विभिन्न अंगहरु प्रयोग गर्न सकिने नियम हुन्छ। खासगरी बक्सिङ, मुआ थाई, किक बक्सिङ, कराते, तेक्वान्दोलगायत मार्सल आर्ट खेल्दा लागु हुने नियमहरु एकसाथ मिक्स मार्सल आर्टसमा लागु हुन्छ।
मिक्स मार्सल आर्टस अर्थात एमएमए प्रतियोगिताहरु प्रोफेसनल तरिकाले आयोजना भइरहेका छन्। तीमध्ये भारतमा विगत ६ वर्षदेखि आयोजना भइरहेको एक एमएमए प्रतियोगिता हो म्याट्रिक्स फाइट नाइट। यो प्रतियोगिताको १७ औँ संस्करण भएकाले शनिबार भएको प्रतियोगिताको नाम म्याट्रिक्स फाइट नाइट अर्थात एमएफएन १७ रहन गएको थियो।
म्याट्रिक्स फाइट नाइट बलिउड अभिनेता टाइगर स्राफ र उनको परिवारले सुरु गरेको हो। दक्षिण एसियाका प्रोफेसनल फाइटरका लागि स्राफ परिवारले यो प्लेट फर्म तयार गरेका हुन्। टाइगर स्राफ आफै पनि मार्सल आर्टस खेलाडी हुन्।
म्याट्रिक्स फाइट नाइट यसपटक विभिन्न कारणले चर्चामा थियो। पहिलोपटक नेपाली खेलाडीले यो प्रतियोगिता खेल्दै थिए। अनि रविन्द्र धान्तले प्रतिस्पर्धा गर्न लागेको बेन्टमवैट टाइटल प्रतियोगिताकै मुख्य इभेन्ट थियो र प्रतिस्पर्धालाई अन्तिममा राखिएको थियो। रविन्द्रसँग भिड्न लागेका चुङचेङ कोरेनको बेग्लै हाइप थियो।
भारतको मनिपुरका कोरेन पूर्व विजेता थिए। उनले म्याट्रिक्स फाइट नाइटको १४ र १५ औँ संस्करणमा बेन्टमवैटको उपाधि जितेका थिए। दुवै संस्करण गत वर्ष भएका थिए। यसै वर्ष भएको १६ औँ संस्करणमा भने बेन्टमवैट समावेश थिएन।
प्रोफेसनल फाइटिङ इतिहासमा कोरेन र रविन्द्र दुवैले ६/६ पटक आफ्ना खेलाडीलाई नकआउट गरेर खेल जितेका थिए। तर कोरेनको फुर्ती यसपटक बेग्लै थियो। उनी डिफेन्डिङ च्याम्पियन भएकाले पनि रविन्द्रलाई सजिलै हराउने बताएका थिए। कम्पिटिसन अघि सार्वजनिक भएको एक भिडियोमा कोरेनले रविन्द्रलाई सुरुमा उनको मस्तिस्कमा क्षती पुर्याउने र त्यसपछि सजिलै खेल जित्ने बताएका थिए। यसअघि एकपटक मात्र हारेकाले पनि कोरेनको आत्मविश्वास बेग्लै थियो।
रविन्द्रले प्रोफेसनल फाइटिङमा यसअघि ९ पटक प्रतिस्पर्धा गरेकामा एकपटक मात्र पराजित भएका थिए। सन् २०२३ को डिसेम्बरमा इस्माइल खानसँग पराजित भएका थिए। तर रिङभित्र अवस्था अर्कै देखियो। ५/५ मिनेटको पाँचवटा राउन्ड खेल्नु पर्ने थियो। रविन्द्र यसरी जाइलागे कि सायद कोरेनले अनुमान पनि गरेका थिएनन्। तेस्रो राउन्डको ५४ सेकेन्डपछि उनी ढले र उठ्न सकेनन्। ढल्नुअघि अन्तिम समयमा कोरेनको अनुहारमा लगातार मुक्का प्रहार गरेका थिए। रविन्द्रले यति जोडले मुक्का हानेका थिए की कोरेनले आफ्नो शरिरलाई नियन्त्रण गर्न सकेनन्।
लगातार दुई संस्करणको विजेतालाई हराउनु, टेक्निकल नकआउट गर्नु र त्यसरी मुक्का बर्साउनु सामान्य सफलता थिएन। कहिले काहीँ लगातारको पिटाईले खेलाडीको ज्यानै जाने अवस्था देखेमा रेफ्रीले अर्को खेलाडीलाई टेक्निकल नकआउटका आधारमा विजयी घोषणा गर्छन्। रविन्द्रको मुक्काले कोरेनको अनुहारमा चोटैचोट देखिएको थियो। प्रतिस्पर्धी लड्न सक्ने अवस्थामा नदेखिएन वा तयार भएन भने त्यस्तो अवस्थामा रेफ्रीले नकआउटको निर्णय सुनाउँछन्। कोरेनमाथी रविन्द्रले हात पारेको जित भने नकआउट नभएर टेक्निकल नकआउटमा आधारित थियो।
रविन्द्रले आफु तीन चार वर्षदेखि म्याट्रिक्स फाइट नाइट खेल्न प्रयाश गरेको खेलपछि बताए। यसपटक टाइगर सराफ आफैले इनभाइट गरेको पनि उनले स्मरण गरे। उनले जय नेपाल, जय हनुमान खुसी साटे।
यति भनेपछि यो सफलताले रविन्द्रको आगामी करियरमा के अर्थ राख्छ भन्ने तपाई सोचिरहनु भएको होला ? सुरुमै चर्चा भएको थियो- म्याट्रिक्स नाइट फाइट दक्षिण एसियालीस्तरको हो।
एसियामै आयोजना हुने वन च्याम्पियनसिप र अमेरिकामा आयोजना हुने बेलाटोर विश्वस्तरका प्रतियोगिता हुन्। क्षेत्रियस्तरका प्रतियोगिताका सफलताले भोलीका दिनमा ग्लोबल लेभलका प्रतियोगिता खेल्ने बाटो तय गर्न सक्ने छ। तर यो सजिलो यात्रा भने हुने छैन। छनोट प्रतियोगिता हुँदै ती प्रतियोगिताहरुसम्म उनले स्थान बनाउन सक्नेछन्।
यहाँ उल्लेनीय के छ भने लामो समयदेखि चर्चित भ्लगर तथा कन्टेन्ट क्रियटर सिसन बानियाँले रविन्द्र धान्तसँग सहकार्य गरिरहेका छन्।



