काठमाडौं । नेपाल, इट्स टाइम ।
८ सेप्टेम्बर, भाद्र २३। कमेन्ट म आउँदै छु।

वि आर द लास्ट जेनेरेसन यू क्यान फुल।
सेप्टेम्बर ८ द जेन जेड रेभ्युलुसन।
शनिबारदेखि सामाजिक सन्जाल टिकटकमा यस किसिमका स्लोगन र ब्यानरहरु भाइरल बनिरहेका छन्। लाग्दै छ सेप्टेम्बर ८ अर्थात भाद्र २४ अर्थात भोली काठमाडौंमा ठुलै हंगामा हुन लागेको छ। हो जेनेरेरेसन जेड अर्थात जेन जी सडकमा आइरहेको छ।
देश विदेशमा रहेको नेपाली जेन जी अपिल गरिरहेको छ।
उनिहरु भनिरहेका छन्- इन्ड करप्सन। बंगलादेश, भियतनाम, इन्डोनेसियामा विधार्थी र युवा पुस्ताले क्रान्ती ल्याएको भन्दै उनिहरु जोश भरिरहेका छन्- सम्भव छ।
अब बढी भयो। इनफ इज इनफ।
देश भ्रष्टाचारमा चर्लम्म डुबेको छ। नेता मात्र नभएर उनिहरुका सन्तानहरु पनि कसरी शक्तिको दुरुपयोग गरिरहेका छन्- विभिन्न कान्डहरु हाम्रा आँखासामु छर्लङ्ग छन्।
कानुन केवल शक्तविहिन, निमुखा जनतालाई मात्र लाग्छ। जति सुकै ठुलो अपराधमा संलग्न भएपनि शक्तिमा रहेकाहरुले उन्मुक्ती पाइरहेका छन्।
प्रहरीदेखि न्यायलयसम्म सेटिङ छ। शक्तिको दुरुपयोग गरेर निर्दोषलाई फसाउने काम भइरहेको छ। घुस नखुवाई कुनै काम हुँदैन।
शक्तिमा हुने र शक्तिको आशिर्वाद पाएकाहरुले मात्र पद पाइरहेका छन्, नियुक्ती पाइरहेका छन्, बढुवा पाइरहेका छन्, पुरस्कार पाइरहेका छन्। देशमा भ्रष्टचार भएको छ की छैन भनेर हेर्ने निकाय त छ तर उनिहरु सत्ता र शक्तिको छायामा छन्।
यस्तो न्यारेटिभ्स हामी पछिल्लो समय निरन्तर सुन्दै आएका छौँ। मानिसहरु किन यस्तो भनिरहेका छन्। सायद उत्तर सबैलाई थाहा छ। बस थाहा पाउनुपर्नेहरुले इग्नोर गरिरहेका छन्।
जनताले लडेर कठोर राणा शासन ढाले। सत्तामा जनताको पहुँच पुग्ने व्यवस्था आयो। केही समयमा राजाले खोसे। जनता केहि समय दबिए पनि फेरि आफ्नो अधिकारका लागि लडे। आजभन्दा ३६ वर्षअघि भएको जन आन्दोलनले प्रजातन्त्र पुनर्बहाली गर्यो।
जनता फेरी सत्तामा पुग्ने अवस्था आयो।
त्यसपछि माओवादीले जनयुद्ध सुरु गर्यो। देशका हरेक नागरिकले उत्तिकै अपनत्व फिल गर्ने देश बनाउने भन्दै माओवादीले सुरु गरेको आन्दोलनमा १७ हजार मानिसहरु मारिए।
हरेक नागरिकले गर्व गर्ने देश बन्छ, भावी पुस्ताले सुख पाउँछन्-बलिदान हुन तयार हुनेले सायद यस्तै सोचेका थिए। त्यहीबेला राजाले सत्ता हातमा लिए।
जनता फेरी सडकमा उत्रिनु पर्ने अवस्था बन्यो। ०६२/६३ को जनआन्दोलन भयो। यही आन्दोलनको बलमा राजतन्त्र फालियो। अब देशको राष्ट्र प्रमुख र कार्यकारी प्रमुख आफै हुने निर्णय जनताले लिए।
अब आफु कस्तो बन्ने, नेपाललाई कस्तो बनाउने ? निर्णय गर्ने पोजिसनमा जनता पुगेका थिए।
पछिल्लो दुई दशकमा राजनीतिक दलहरुले जनताले त्यसरी ल्याएको अधिकारबाट मुलुकलाई कहाँ पुर्याए ? एसईई दिएको एउटा किशोर भविस्यमा कुन देशमा गएर करियर बनाउने ? चिन्तामा डुब्नुपर्ने अवस्था बनिरहेको छ। उसले नेपालमा बसेर करियर बनाउन सकिन्छ ? सोच्न सकिरहेको छैन।
उसलाई लाग्छ- पहुँच हुनेहरुलाई यो देश स्वर्ग छ। किनभने उनिहरुसँग सबै कुरा छ। जेजे गरेपनि छुट छ।
उसलाई लाग्छ- पहुँच नहुनेहरु यो देशमा घुन जसरी पिसिन्छन्। पाइला पाइलामा लखेटिन्छन्। कुहिरोमा हराएको काग जसरी उनिहरुको जिन्दगी वित्छ।
उनिहरुलाई लाग्दैन। यो देशमा कानुन सबैका लागि समान छ।
गलत गर्नेहरुलाई सजया हुन्छ, राम्रो गर्नेहरु पुरस्कृत हुन्छन्-उसले यस्तो सोच्न पनि सक्दैन।
तर अब अत्ति भयो, पुग्यो। सहन सकिँदैन अब भन्दै जेन जी पुस्ताले लास्ट ब्याटल जसरी आन्दोलन घोषणा गरेको छ। यो आन्दोलनबाट सत्ता हल्लिरहेको छ। जेन जी पुस्ता कति शक्तिशाली छ ? गएको चुनावले देखाएको हो।
सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्ता जो आज बढीमा २८ वर्ष भयो र घटीमा १३ वर्ष पुगेको छ। इन्टरनेटको दुनियामा नाच्दै रमाउँदै हुर्किएको यही पुस्तालाई जेन जी भनिन्छ।
उनिहरु इन्टरनेटदेखि एआईसम्म आईपुग्दा प्रविधिलाई नै लाइफ स्टाइल बनाइरहेका छन्। प्रविधि उनिहरुको जिवनको अभिन्न अंग बनेको छ।
उनिहरु मनग्गै पैसा कमाइरहेका छन् : इन्टरनेटका प्लेटफर्मबाट। ग्लोबल भिलेजको दुनियामा उनिहरु छिनभरमै भाइरल भइरहेका छन्, व्यक्तिका सूचनाहरु लिइरहेका छन्। डाटामा खेलिरहेका छन्।
यीनै अवसर दिइरहेको सोसल मिडियालाई सरकारले प्रतिबन्ध गरेपछि जेन जी आक्रोशित छन्। उनिहरु भनिरहेका छन्- शासकहरुले निरंकुशता लाद्न खोजिरहेका छन् र देशमै केही गर्छु भनेर सोचिरहेका जेन जीलाई फ्रस्टेट बनाएर विदेश लखेट्न लागि परेका छन्।
दलहरुले जेन जीबाट आफुहरुलाई थ्रेट देखेरै सामाजिक सन्जाल प्रतिबन्ध लगाएको भाष्य उनिहरु सुनाइरहेका छन्। सामाजिक सन्जाल प्रतिबन्ध लगाएपछि उनिहरुले हालै नेपो बेबी अभियान टिकटकमा चलाएका थिए।
नेताहरुका छोराछोरी जो आफ्ना बुबाआमाले भ्रष्टाचार गरेर कमाएको सम्पत्तीमा मोज गरिरहेका छन् र नेताका छोराछोरी भएकै कारण उनिहरु स्पेसल प्रिभिलेज पाइरहेका छन् उनिहरुविरुद्ध अन्तर्राष्ट्रियस्तरमा सुरु भएको मुभमेन्ट हो नेपो बेबी।
यति बेला सामाजिक सन्जालमा प्रतिबन्धपछि नेपाली जेन जीले नेताका छोराछोरीले विलासी जिवन बाँच्ने तर जनताका छोराछोरीले सँधै दुख पाइरहने भन्दै नेपालमा यो मुभमेन्ट चलाइरहेका छन्। उनिहरुले भ्रष्टाचार अन्त्य हुनुपर्ने भन्दै भर्चुवल नाराबाजी गरिरहेका छन्।
यो नाराबाजी सत्तामा रहेकाको कानमा समेत पुगेको देखिन्छ। जेन जी र युवा पुस्ताकै मुभमेन्टबाट काठमाडौं महानगरपालिकाको मेयर जितेको भनेर टिप्पणी हुँदै आएका बालेन शाहले यसबारे बोलेका छन्। उनले आन्दोलनप्रति आफ्नो समर्थन रहेको बताएका छन्।
अन्य क्षेत्रका व्यक्तित्वहरुले पनि जेन जीलाई ढाडस दिइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने जेन जीको नाममा समाज भड्काउन खोजिएको आरोप लगाइरहेका छन्। त्यसो त जेन जीलाई पुरानो सोच, पुराना दल, पुराना नेताका आलोचकका रुपमा पनि हेर्ने गरिएको छ। पुराना दलमा रहेका युवा वर्गले यो आन्दोलनलाई के गर्छ, त्यो हेर्न बाँकी छ।
जेन जीले चलाइरहेको यो मभुमेन्ट र आन्दोलन कहाँसम्म पुग्ला ? तपाईलाई के लाग्छ ?


