काठमाडौं। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले यतिबेला तयारी तिव्र बनाउँदै लगेका छन्। उमेद्ध्वारी दर्ताको काम सकिएसँगै दल र उमेद्ध्वारहरु आ-आफ्नो क्षेत्रमा पुगिरहेका छन्।
नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले सर्लाही-४ बाट चुनाव लड्दैछन्। उनलाई रास्वपामा अमरेशकुमार सिंह, नेकपा एमालेका अमनिशकुमार यादब र नेपाल कम्युनिस्ट पार्टीका रजनिश रायले चुनौती दिँदै छन्। थापा यसअघि काठमाडौंबाट चुनाव लड्दै आएका थिए।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट चुनाव लड्दैछन्। उनले यसअघि यही ठाउँबाट चुनाव लडेका थिए। उनलाई रास्वपाका वरिष्ठ नेता बालेन, नेपाल कम्युनिस्ट पार्टीका रन्जित तामाङ र नेपाली कांग्रेसका मंधरा चिमरियाले चुनौती दिँदछन्।
यस्तै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले पूर्वी रुकुम पुगेका छन्। यो माओवादीको गढ इलाका मानिन्छ। यसअघि प्रचण्ड विगतमा काठमाडौं, सर्लाही, चितवन, गोरखालगायत ठाउँबाट चुनाव लडेका थिए।
रास्वपा सभापती रवि लामिछाने फेरी चितवनबाटै चुनाव लड्दैछन्। चितवन-२ मा रविलाई एमालेका अस्मिन घिमिरे, नेपाल कम्युनिस्ट पार्टीका प्रताप गुरुङ र नेपाली कांग्रेसका मिनाकुमारी खरेलले चुनौती दिँदैछन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा-३ बाट लड्दैछन्। एमालेका हरिबहादुर राजबंशी, नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरे र नेपाल कम्युनिस्ट पार्टीका डिल्लीराम घिमिरे पनि यो क्षेत्रबाट उठ्दैछन्। रास्वपाले जिल्ला अध्यक्ष प्रकाश पाठकलाई यहाँ उठाएको छ।



