काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा बलियो बहुमत प्राप्त गरेको छ। रास्वपाले कुल २ सय ७५ सदस्यमध्ये एक्लैले एक सय ८२ सिट जितेको छ। रास्वपाले प्रत्यक्षतर्फ एक सय २५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ।
प्रत्यक्षतर्फ एक सय ६५ र समानुपातिकतर्फ चुनिएर आउने एक सय १० गरि कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभाको व्यवस्था छ। साधारण बहुमत अर्थात कम्तिमा एक सय ३८ सिट जितेमा एकल सरकार बनाउन सकिने कानुनी व्यवस्था छ। अब रास्वपाले एकल सरकार बनाउन सक्ने छ।

निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपतिकहाँ बुझाएपछि सरकार निर्माणको प्रकृया अगाडि बढ्ने छ। रास्वपाले बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ। उनी नै रास्वपाको संसदीय दलको नेता हुनेछन्। रास्वपाले अघिल्लो प्रतिनिधि सभामा २१ सिट जितेको थियो।

