काठमाडौं। २०७९ साल असोजको पहिलो साता काठमाडौंको गोठाटारमा साँझपख गोली चल्छ। बाटोको छेवैमा रहेको घरमा जान गाडी रोकेर निस्कन लाग्दा ५८ वर्षीय लाल मोहम्मदलाई पछाडीबाट गोली प्रहार भएको थियो।

त्यसपछि उनलाई गाडीवरिपरी लखेटी लखेटी सुटरले गोली हाने। हो हल्ला हुन थालेपछि सुटर पेस्तोल छाडेर नजिकै रोकिराखेको मोटरसाइकलमा निस्किएका थिए। सर्लाहीको हरिवन घर भएका ५८ वर्षीय लाल मोहम्मदको उपचारका क्रममा मृत्यु हुन्छ। भारतीय नक्कली नोट कारोबारमा विगतमा संलग्न भएको रेकर्डले प्रहरीले भारतीय गुप्तचर संस्था रको योजनामा लाल मोहम्मदको हत्या भएको हुन सक्ने प्रारभ्भिक अनुमान लगाउँछ।
त्यही घटनामा सुटरका रुपमा संलग्न भएको आरोपमा आइतबार गुड्डु पटेललाई गोली हानी काठमाडौंबाट नियन्त्रणमा लिएपछि लाल मोहम्मद हत्याकान्ड फेरी एकपटक चर्चामा आएको छ। किनभने गुड्डु पटेल भाडाका सुटर भएको प्रहरी अधिकारी बताउँछन्। सार्प सुटरका रुपमा चिनिएका गुड्डु गोली लागेपनि बाँच्न सफल भएका छन्। ठुला घटना हेर्यौँ भने प्रहरीले त्यस्ता अभियुक्तहरुलाई इन्काउन्टर गरी सफाया गर्ने गरेको थियो। तर गुड्डु पटेलको घुँडामा मात्र गोली हानेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। उनी अब अदालती सुनुवाईका लागि पेश हुनेछन्। सम्भवत् उनिमाथी जन्मकैदको माग गरिने छ।
२०६४ असार २० गते अनामनगर धोबिखोला नजिकै बाराका बलराम पटुवाको गोली हानी भएको हत्यामा लाल मोहम्मद झन्डै ९ वर्ष जेल बसेर छुटेका थिए। नक्कली भारतीय नोटकै कारोबारी पटुवाबाट थ्रेट भएपछि गिरोहले उनको सफाया गरेको प्रहरी अनुसन्धानका क्रममा पाइएको थियो। जेलबाट छुटेर गोठाटारमा गार्मेन्ट चलाएर बसिरहेका लाल मोहम्मदलाई त्यसबीचमा पटकपटक मार्ने प्रयाश भएको थियो। लाल मोहम्मद पटकपटक जोगिएका थिए। त्यसबारे प्रहरीले सूचना पनि पाएको थियो।
तर त्यहीबीचमा लाल मोहम्मदलाई सुरक्षा व्यवस्थालाई झुक्याएर गोली प्रहार भएको थियो। त्यति मात्र होइन, सुटरहरु भारत पुग्न पनि भ्याएका थिए। प्रहरी अधिकारीहरुका अनुसार लाल मोहम्मदलाई मार्न भनेर चार जना भारतीय सुटर त्यतिबेला काठमाडौं आएका थिए। तिवारी थरकी भारतीय र स्याङ्तान थरकी नेपाली युवतीले बौद्धको एक गेस्ट हाउसमा बसेर लाल मोहम्मदको दिनचर्यालाई लगभग एक महिना रेकी गरेका थिए। त्यस्तै सामाखुसीभन्दा माथी रहेको हिलेटोल र गोठाटारकै एक होटलमा बसेर सुटरहरुले लाल मोहम्मदलाई मार्ने तयारी गरेका थिए। लाल मोहम्मदलाई गोली प्रहार गरेपछि दुई जना सुटर फर्पिङको बाटो भएर र दुई जना सुटर नारायणगढको बाटो भएर विरगन्ज हुँदै भारत पुगेका थिए। तीन जना सुटर अझै पक्राउ पर्न बाँकी छन्। भाडाका रुपमा प्रयोग हुने सुटर र सहयोगीहरुले एक अर्कालाई नचिन्ने गरी गिरोहले प्रयोग गर्ने गरेको विभिन्न अनुसन्धानहरुबाट देखिएका छन्।
प्रहरीले गिरोहले प्रयोग गरेकी स्याङ्तान थरकी नेपाली युवतीलाई पक्राउ गरेपछि अनुसन्धानमा केही सजिलो भएको थियो। यो घटनाको योजनाकार बब्लु पासवान भन्ने भारतीय नागरिक रहेकोसम्म प्रहरी पुगेको थियो। तर उनी पनि सुपारी लिएर काम गर्ने व्यक्ती भएको अनुसन्धान अधिकारी बताउँछन्। बब्लुलाई कसले प्रयोग गरेको थियो भन्ने प्रहरीले पत्ता लगाउन सकेको थिएन। बब्लुलाई केही समय अघि पर्सा प्रहरीले गोली हानी नियन्त्रणमा लिएको थियो। बब्लुलाई यसअघि भारतीय अन्डरवल्ड डन बब्लु श्रीवास्तवले प्रयोग गरेर नेपालमा नक्कली भारतीय नोट कारोबार गर्नेलाई सफाया गर्ने गरेको बताइन्छ।
दुई वर्षअघि ज्यान गुमाएका लाल मोहम्मद कुनै समय इल्ताफ अन्सारी, युनुस अन्सारीलगायतसँग मिलेर नक्कली भारतीय नोट कारोबारमा संलग्न हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन्। नाटकीय पारामा युनिस अन्सारी नक्कली भारतीय नोटसहित पक्राउ परेका थिए। यस्तै इल्ताफ पनि नक्कली सुन कान्डमा पक्राउ परेका थिए। युनुसलाई केन्द्रीय कारागारभित्र गोली प्रहार भएको थियो। यो घटनालाई रको संलग्नतासँग जोडेर हेरिने गरेको छ। उनलाई गोली हान्न भारतीय सुटरको प्रयोग भएको थियो। भारतीय सुटरले नेपालमा आएर गरेका हत्यामा नक्कली भारतीय नोटको कारोबार जोडिने गरेको छ।
पछिल्लो समय नेपाल प्रहरीले लागु औषध कारोबारीलाई केही घटनामा गोली प्रहार गरेर नियन्त्रणमा लिने गरेको पाइएको छ। गोली प्रहारको एउटा आशय भनेको अरुले चेतुन् र संलग्न नहुन् भन्ने हो। हामीले विगतमा हेर्यौँ भने भारतमा बसेर नेपालमा फिरौती आतङ्क मच्चाउने मनोज पुनलाई नेपाल प्रहरीले इनकाउन्टर गरेको थियो।
मनोज पुनसँगै सुटर मानिएका सोमबहादुर आले पनि प्रहरी कारबाहीमा मारिएका थिए। काठमाडौंमा निर्माण व्यवशायी महासंघका अध्यक्ष शरदकुमार गौचनदेखि रुपन्देहीमा युवा संघका नेता दुर्गा तिवारीको हत्यासम्ममा मनोज पुन गिरोहको संलग्नता देखिएको प्रहरीको दावी छ। उक्त गिरोहका समिरमानसिंह बस्नेत, लोप्साङ लामा, अमर राना, रोशन बुढाथोकीलगायत पक्राउ परि हाल जेलमा छन्।
आइतबार गोली हानी नियन्त्रणमा लिइएका गुड्डु पटेलविरुद्ध भारतमा मात्र ८ वटा मुद्धा रहेको बताइन्छ। ६ वटा चोरी र दुईवटा हात हतियार सम्बन्धी मुद्धामा उनी संलग्न रहेको अनुसन्धान अधिकारीहरु बताउँछन्।

