काठमाडौं। गएको चैत २६ गते एक महिला आफ्नो इसेवाबाट ९ हजार रुपैयाँ चोरी भएको भन्दै अत्तालिँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुग्छिन्। प्रहरीले घटनाबारे ती महिलासँग प्रारम्भिक जानकारी लिन्छ।
इसेवाबाट पैसा चोरि हुनुभन्दा अगाडि महिलाले आफ्नो मोबाइलमा के के गरेकी थिइन्, प्रहरीलाई सविस्तार लगाउँछिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको साइबर अपराध हेर्ने पिलरले ती महिलालाई घर पठाउँदै सुक्ष्मरुपमा अनुसन्धान अगाडि बढाउँछ।

एक साता पनि वित्न नपाउँदै प्रहरीको अनुसन्धान सुई एक युवकसम्म पुग्छ। तर जब युवक अनि कारोबारबारे बुझ्न थाल्छ, प्रहरी छक्क पर्छ। उनको नाममा दर्ता रहेको एक कम्पनीको बैंक र इसेवा मर्चेन्ट खातामा अप्रिल १ देखि १३ तारिखसम्म अर्थात १३ दिनमा मात्र एक करोड रुपैयाँभन्दा बढी पैसा जम्मा भएको देखिन्छ। चार हजार ३ सय ८१ जनाको इसेवाबाट ती अकाउन्टमा पैसा ट्रान्सबारे भएको देखिन्छ। यो अवधिमा १० लाख रुपैयाँभन्दा बढी निकालेको र अझै एक करोड २ लाख रुपैयाँ ब्यालेन्स रहेको पाइएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार सार्वजनिक गरेको ती युवक कन्चनपुरका २२ वर्षीय राहुल बुढा र यो घटनाको सम्बन्ध र वास्तविकता के हो ?
प्रहरीले सार्वजनिक गरेको विज्ञप्तीमा बुढाले एटी अलर्ट पठाएर इसेवा आईडी ह्याक गरेको र त्यसमा रहेका रकम पशुपती इनोभेसन प्राइभेट लिमिटेडको बैंक खाता र इसेवा मर्चेन्ट खातामा जम्मा भएको पाइएको छ। चोरीको रकम जम्मा भएको खाताका आधारमा बुढालाई पक्राउ गरिएको प्रहरीको दावी छ।
प्रहरी भन्छ- एटी अलर्टमार्फत तपाईको इसेवा खाता सस्पेन्ड हुन लागेको भन्दै भेरिफाई गर्न गिरोहले फिसिङ लिंक पठाएर ह्याक गरेको पाइएको छ।
यसबारे हामीले बिहीबार यो घटनाको अनुसन्धानमा खटिएका अधिकारीहरुसँग बुझेका थियौँ। ती अधिकारीका अनुसार त्यस्तो फिसिङ लिंक खोलेर इसेवामा प्रवेश गर्दा गिरोहले डाटा चोर्ने गरेको थियो र त्यसैका आधारमा तत्कालै पैसा अन्य अकाउन्टमा ट्रान्सफर गर्ने गरेका थिए। प्रहरीका अनुसार गिरोहले अन्धाधुन्द त्यस्तो एटी अलर्ट पठाउने गरेका थिए।
धेरै जनालाई एउटै म्यासेज पठाउनका लागि विभिन्न कम्पनी र व्यक्तीहरुले एटी अलर्टको सुविधा लिएका हुन्छन् टेलिकमहरुबाट। तपाई हाम्रो मोबाइलमा चारवटा नम्बरको कोडमा म्यासेज आइरहेको हुन्छ नी हो त्यस्तो कोड लिएर गिरोहले अन्धाधुन्ध म्यासेज पठाउने गरेका थिए।
२२ वर्षीय युवकले यत्रो धन्धा कसरी गरे होलान्, तपाईलाई पक्कै जिज्ञासा भएको हुनुपर्छ। झट्ट सुन्दा अवश्य सबैलाई त्यस्तै हुन्छ। चोरी गरेर ट्रान्सफर गरिएको रकम जुन खातामा जम्मा भएको छ, त्यसको इतिहास सुन्दा तपाईलाई थप छक्क लाग्ने छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार पशुपतीनाथ ग्लोबल इनोभेसन प्राली गत चैत ४ गते काठमाडौको कमलादीमा कार्यालय रहने गरी उधोग तथा वाणिज्य कार्यालय, त्रिपुरेश्वरमा दर्ता भएको थियो। यो कम्पनीका एकल सन्चालक हुन् राहुल बुढा जो काठमाडौको अनामनगरमा बसेर कम्प्युटर इन्जिनियरिङ पढिरहेका छन्। यो कम्पनीको उदेश्य हेर्दा डकुमेन्टहरुमा अडियो भिजुवल सामग्री उत्पादन गर्ने भनेर लेखिएको छ।
तर अनुसन्धानका क्रममा यो कम्पनीको कुनै कार्यालय भेटिएको छैन। पक्राउ परेका युवकले आफुलाई दुई जना भारतीयहरुले फसाएको बताएका छन्। बुढाका अनुसार उनका बुबा भारतमा सेक्युरिटी गार्डको काम गर्छन्।
भारतीयहरुले बुबामार्फत आफुलाई नेपालमा कम्पनी खोल्न लगाएको र मासिक २० हजार रुपैयाँ तलबको प्रलोभन देखाएको पक्राउ परेका युवकको दावी छ। उनले कम्पनीको बैक तथा इसेवाको खाताहरु भारतीयहरुले नै अनलाइन चलाउने गरेको र चेकमा पनि साइन गरेर आफुले उनिहरुलाई दिने गरेको दावी गरिरहेका छन्। बुढाका कुराहरुलाई विश्वास गर्ने आधारहरु पनि भेटिएको प्रहरी दावी छ। त्यसैले अनुसन्धान गर्ने अधिकारीहरु भन्दैछन्- भारतीय गिरोहले नेपालीलाई प्रलोभनमा पारेर फसाए।
सुरुमा उजुरी गरेर आउने महिलाको निवेदनका आधारमा अप्रिल १ यताको स्टेटमेन्ट मात्र हेरिएकाले यो गिरोहले थुप्रै मानिसको इसेवाबाट रकम चोरी गरेको हुन सक्ने अनुमान प्रहरीको छ। इसेवा र खल्तीजस्ता वालेटहरुले आफ्ना ग्राहकको रकम चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्नेक्रम बढिरहेको पाइएको छ। एक प्रहरी अधिकारीका अनुसार इसेवाले आफ्ना ८ हजारभन्दा बढी ग्राहकको रकम चोरी भएको जानकारी दिएको छ। इसेवाले पनि यस्तै गुनासो गरिरहेको छ। प्रहरी अधिकारी मोबाइलमा आउने शंकास्पद लिंकहरु नखोल्न आग्रह गर्छन्।


