काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन्। खासगरी आफु असन्तुष्ट रहेका वडाध्यक्षहरुलाई बालेनले जिम्मेवारीबाट हटाएका छन्।
काठमाडौँ महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको पत्रमा उल्लेख गरिएको छ ।

यसरी परिवर्तन गरिएका समितिहरुमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् । यी समितिमा क्रमशः नविन मानन्धर, ख्यामराज तिवारी, आशामान संगत र मचाराजा महर्जन संयोजक थिए। अब ती समितिमा क्रमशः वीरेन्द्र प्रजापती, दलबहादुर कार्की, विनोद कुमार राजभण्डारी र रोजिना श्रेष्ठ संयोजक तोकिएका छन्।
हटाइएका र ल्याइएका सबै वडाध्यक्ष हुन्। हटाइएका मानन्धर महानगरका प्रवक्तासमेत हुन्। खासगरी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई विवादमा आफुविरुद्ध लागेका वडाध्यक्षसँग बालेन असन्तुष्ट थिए।


