काठमाडौं। राजा नभए राष्ट्रपती, राष्ट्रपति नभए राजा। हामी प्राय सबैलाई राज्य प्रमुखबारे यत्ति थाहा छ। विभिन्न समयमा भएका आन्दोलनले पनि हामी यसबारे मज्जाले भन्न सक्छौँ।
तर हाल अमेरिका र इजरायल मिलेर आक्रमण भइरहेको इरानमा यस्तो छैन। त्यहाँ राष्ट्रपतीले सरकार चलाउँछन् तर राज्यका महत्वपूर्ण निर्णयहरु उनले गर्दैनन्। नत उनीसँग राज्य प्रमुखको हैसियत हुन्छः प्रश्न आउँछ त्यो अधिकार र हैसियत कोसँग हुन्छ त। त्यो अधिकार सुप्रिम लिडरसँग हुनछ जुन एउटा धार्मिक पद हो।

इरान इस्लामिक रिपब्लिक देश हो। यहाँको शासन व्यवस्था इस्लाम धर्ममा आधारित हुन्छ। राष्ट्रपती, संसद जनताले निर्वाचित गर्छन्।
राष्ट्रपतीको कार्यकाल ४ वर्षको हुन्छ। सर्वोच्च नेता इस्लाम धर्मको प्रकाण्ड विद्धानबाट चयन हुन्छ। जनताले निर्वाचित गर्ने एसेम्ब्ली अफ एक्सपर्ट्सले सर्वोच्च नेता तय गर्छ। एसेम्बली अफ एक्सपर्ट्समा उमेद्ध्वारी दिन पनि गार्जियन काउन्सिलले पहिले अनुमोदन गर्नुपर्छ।
यतिबेला यो सामग्री तयार गर्नुको कारण भने बेग्लै छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खमेनी र उनको शासनलाई सिध्याउने सार्वजनिक अभिव्यक्ती दिइरहेका छन्। खमेनी स्वयंले आफु मारिएको अवस्थामा उत्तराधिकारीको विकल्प तयार गरेको भनेर अमेरिकी मिडियाले दावि गर्दैछन्। खमेनी को हुन्, उनी कसरी इरानको सर्वोच्च नेता बनेका थिए ? एकछिन बुझौँ
आयोतोल्लाहको शाब्दिक अर्थ हुन्छ अल्लाहको संकेत वा इश्वरको प्रतिक। सिया इस्लाम धर्मका प्रकान्ड विद्धानलाई आयोतोल्लाह भनेर धार्मिक उपाधिका रुपमा संवोधन हुने गर्छ।
इस्लामिक कानुनलाई ब्याख्या गरेर निर्णय गर्न सक्ने स्तरको योग्यता समाजले महसुस गरेपछि त्यस्ता विद्धानलाई इस्लामिक समुदायले अयोतोल्लाह भनेर संबोधन गर्न थाल्छ। आम मान्यता यस्तै छ।
उनिहरुले इस्लामिक कानुन, कानुनी सिद्धान्त, कुरान ब्याख्या, तर्कशास्त्र, दर्शनबारे गहिरो विज्ञता राखेका छन् र इस्लाम धार्मिक समुदायलाई मार्ग दर्शन गर्न सक्छन् भन्ने विश्वास गरिएको हुन्छ। कुनै समयका अली होसेइनी खमेनी समयक्रमा आयोतोल्लाह अली खमेनीका रुपमा विश्व चर्चित बनेँ र हाल उनी इरानको सर्वोच्च नेता छन्। अँ हाल मात्र होइन, ३६ वर्षदेखि इरानको बागडोर सम्हालिरहेका छन्।
सन् १९७९ सम्म इरानमा राजतन्त्र थियो। आयतोल्लाह रुहोल्लाह खोमेनीको नेतृत्वमा पहिल्यैदेखि तत्कालिन राजा शाह मोहम्मद रेजा पल्लवीको शासनविरुद्ध प्रदर्शन भइरहको थियो। तत्कालिन राजाले इस्लामिक मुल्यहरुको उपेक्षा गरेको, अधिनायकवादी बनेको, पश्चिमीकरण गरेको आरोप लागेको थियो। आयतोल्लाह रुहोल्लाह खोमेनीलाई निर्वासित पनि गरियो। तर राजाविरुद्ध आन्दोलन रोकिएन। खोमेनी बाहिर बसेर आन्दोलन चलाइरहेका थिए। अन्तत तत्कालिन राजा देश छोडेर भागे। पछि जनमत संग्रह भयो। जनताले इस्लामिक रिपब्लिकको पक्षमा बहुमत दिए। यही नतिजा आएको दिनलाई इरानले अप्रिल १ मा हरेक वर्ष इस्लामिक रिपब्लिक डेका रुपमा मनाउने गरिएको छ।
पछि संविधान बन्यो। संविधानमा सुप्रिम लिडर, राष्ट्रपति र प्रधानमन्त्री तीनवटै पद थिए। आयतोल्लाह रुहोल्लाह खुमैनी पहिलो सुप्रिम लिडर बनेँ। सन् १९८९ मा सर्वोच्च नेता आयतोल्लाह रुहोल्लाह खुमैनीको मृत्यु भयो। इरानको संविधान संसोधन गरेर प्रधानमन्त्री पद हटायो। सुप्रिम लिडरलाई थप बलियो बनाइयो। त्यसै वर्षदेखि सुप्रिम लिडर छन् आयोतोल्ला अली खमेनी।
सन् १९३९ मा इरानको मशहदमा जन्मिएका खमेनी शिया इस्लाम धर्मका ज्ञाता थिए। उनी राजाविरोधी आयोतोल्लाह रुहोल्लाह खुमैनी नेतृत्वको आन्दोलनमा सहभागी भए। खमेनी खुमैनीका कट्टर समर्थक थिए। केहीपटक पक्राउ पनि परे।
खुमेनीले खमेनीलाई राम्रोसँग चिनिसकेका थिए। इस्लामिक क्रान्तीपछि सन् १९८० मा खुमेनीले खमेनीलाई तेहरानको एक शक्तिशाली धार्मिक पदमा नियुक्त गरेका थिए। क्रान्तिपछि स्थापना गरिएको इस्लामिक रिपब्लिक पार्टीमा उनी सह संस्थापक थिए। इरानको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने रक्षा परिषद्मा पनि उनी सदस्य थिए।
सन् १९८० मा इरानका पहिलो राष्ट्रपति अब्दुल हसन बन्नी सदर पदबाट हटाइए। उनलाई संसदले पदमुक्त गर्यो। त्यसपछि राष्ट्रपति बनेका मोहम्मद अली रजाईको सन् १९८१ मा हत्या भयो। त्त्यसपछि तत्कालिन सुप्रिम लिडर खुमैनीका विश्वासपात्र खमेनी राष्ट्रपती बनेका थिए। राष्ट्रपती बनेको ८ वर्पपछि उनी सर्वोच्च नेता चुनिए।
संविधान संसोधन गरेपछि मात्र खमेनी सुप्रिम लिडर बन्ने बाटो खुलेको थियो। त्यसअघिको संविधानमा सुप्रिम लिडर बन्न मरजाअ ए तक्लिद अर्थात ग्रान्ड आयोतोल्लाह हुनुपर्ने भनिएको थियो। ग्रान्ड आयोतोल्लाह हुन उच्चस्तरको धार्मिक विज्ञता र लाखौ समर्थक हुनुपर्ने थियो।
त्यो योग्यता खमेनीसँग थिएन। त्यसपछि सुप्रिम लिडर बन्न आवश्यक योग्यता घटाएर खमेनीलाई मिल्ने बनाइयो। पर्याप्त धार्मिक ज्ञान र राजनीतिक नेतृत्व क्षमता भएको व्यक्ती सर्वोच्च नेता बन्ने व्यवस्था गरिएको थियो।
राष्ट्रपती बन्नुअघि खमेनी सन् १९८१ मा मस्जिदमा बोल्दा बोल्दै बम विस्फोटमा परेका थिए। टेप रेकर्डरमा लुकाइएको बम विस्फोट हुँदा गम्भिर घाइते भएका थिए उनी। अहिले पनि खमेनीको दायाँ हातका औलाँहरुले राम्रोसँग काम नगर्ने बताइन्छ।
खमेनी अहिले इरानका सर्वोच्च धार्मिक र राजनीतिक नेता हुन्।
अमेरिकाले यतिबेला इरानमाथी हमला गरिरहेका बेला सन् १९७९ को इस्लामिक क्रान्तीको एउटा घटना यहाँ जोड्नैपर्ने हुन्छ। त्यतिबेला तेहरानमा आन्दोलनकारी विधार्थीले अमेरिकन एम्बेसीमा हमला र कब्जा गरेका थिए। अमेरिकी दुतावासमा रहेका ५२ जना अमेरिकीलाई ४ सय ४४ दिन बन्धक बनाइएको थियो।
खासगरी अमेरिकाले इरानमा गरिरहेको व्यवहार र आफुले लखेटेका तत्कालिन राजालाई शरण दिएको लगायत मुख्य आरोपमा इरानीले अमेरिकी दुतावासमा हमला गरेका थिए। कुटनीतिमा यसलाई ठुलो घटनाका रुपमा लिने गरिन्छ।
खासगरी इरानीहरु अमेरिकालाई कसरी हेर्छन् भन्ने मामलामा आज पनि त्यस घटनालाई रेफरेन्स लिइन्छ। इरानीहरु साम्राज्यवादविरुद्धको प्रतिकारका रुपमा त्यस घटनालाई लिन्छन्। उक्त घटनापछि अमेरिकाले इरानमाथी नाकाबन्दी लगाएको थियो।
पछि अल्जेरियाको मध्यस्थतामा बन्धकहरु मुक्त भएका थिए। त्यतिबेला अल्जेरियाको राजधानी अल्जायर्समा अमेरिका र इरानबीच सम्झौता भएको थियो। इरानको आन्तरिक मामिममा राजनीतिक र सैन्य हस्तक्षेप नगर्ने भनेर अमेरिकाले हस्ताक्षर गरेको थियो।
सम्झौतापछि बन्धक अमेरिकीलाई तेहरानबाट अल्जेयर्स हुँदै जर्मनी र त्यहाँबाट अमेरिका पुर्याइएको थियो। रोचक के थियो भने जिम्मी कार्टरलाई विस्थापित गर्दै रोनाल्ड रेगनले अमेरिकाको सत्ता सम्हालेकै दिन इरानले बन्धकहरु रिहा गरेको थियो। जिम्मी कार्टरको अपमान र राष्ट्रवादी र कडा स्वभावका रेगनको स्वागतमा इरानले त्यस दिन मुक्त गरेको थियो ? अनुमान मात्र हुँदै आएको छ।
यतिबेला इरानमाथी आक्रमण भइरहेका बेला अमेरिकी राष्ट्रिपती डोनाल्ड ट्रम्प खमेनीलाई मार्ने सक्ने आशयका स्टेटमेन्टहरु दिइरहेका छन्। सत्ता फेर्नुको आशय खमेनीलाई अमेरिकाले मार्न चाहन्छ भनेर पनि व्याख्या भइरहेको छ। इरानका मुख्य आणविक भट्टीहरुमा आक्रमण गरेपछि ट्रम्पले अझै पनि केही टार्गेटहरु बाँकी रहेको बताएका थिए।
यसबाट उनले खमेनीलाई लक्ष्यित गर्न खोजेको आशय बुझ्न सकिन्छ। यसअघ विभिन्न आरोप लगाएर सन् २००३ मा इराकमाथी अमेरिकाले आक्रमण गरेको थियो। द्धाम हुसेनलाई हटाइएन मात्र सत्ता पल्ट्याएपछि बनेको सरकारले उनलाई फाँसीसमेत दियो। अहिले इरानमा सन्चालित आणविक कार्यक्रमहरु हतियार निर्माणका लागि केन्द्रित भएको आरोप लगाएर त्यहाँ आक्रमण भइरहेको छ।
इरानले भने अनुसन्धान, उर्जा, मेडकलगायत शान्तीपूर्ण प्रयोजनका लागि मात्र आणविक कार्यक्रम सन्चालन भइरहेको दावी गरेको छ। अमेरिका र इजरायलले आक्रमण गरेर संयुक्त राष्ट्र संघको चार्टर र सार्वभौम राष्ट्रको अधिकारमाथी हनन गरेको, अन्तर्राष्ट्रिय कानुन, सन्धि सम्झौता सबै उल्लेघन भएको भन्दै इरानले अन्तर्राष्ट्रिय समुदाय गुहारिरहेको छ।
इरानमा सुप्रिम लिडर यति शक्तिशाली हुन्छन् कि कार्यकारी निर्णयहरु स्विकृत अस्विकृत गर्ने अधिकार उनैलाई हुन्छ। सबै जसो सैन्य संरचनाको प्रत्यक्ष कमान्ड नै सुप्रिम लिडरले सम्हालेका हुन्छन्। युद्ध घोषणा गर्नेदेखि युद्ध विराम गर्नेसम्मका निर्णयहरु सुप्रिम लिडरले नै गर्छन्।
सुप्रिम लिडरलाई ८८ सदस्य इस्लामिक विद्धानहरुको परिषद्ले हटाउन सक्छ तर हालसम्म त्यस्तो इतिहास छैन। अयोतोल्लाह अलि खमिनीकै अडान र नीतिअनुसार इरान चलिरहने अमेरिका र इजरायलले बुझेका छन्।
सुप्रिम लिडर कार्यपालिका, न्यायपालिका, सेना, मिडिया, र धर्म सबै क्षेत्रमा अन्तिम र निर्णायक शक्ति राख्ने इरानको सर्वाधिक शक्तिशाली व्यक्ति हुन्। राष्ट्रपति, संसद वा अदालतभन्दा पनि उनको निर्णय सर्वोपरी हुन्छ। खमेनी अमेरिकाविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् र खुलेहाम च्यालेन्ज पनि गर्छन्। का
अमेरिकाले मध्यपूर्वी एसियालाई रणनीतिक रुपमा प्रयोग गर्दै आएको छ। यो क्षेत्रमा अमेरिकाका थुप्रै एयर बेसहरु छन् जसलाई आवश्यक पर्दा इरान, रुस, चीनजस्ता शक्ति राष्ट्रविरुद्ध अमेरिकाले मुभ गर्न सक्छ।
दोस्रो मध्यपूर्व तेल र ग्याँसको सबैभन्दा ठुलो भण्डार भएको ठाउँ हो जसमा चीन, भारत जस्ता ठुला निर्भर देशमा प्रभाव पार्न अमेरिका मध्यपूर्वको यो भण्डारमा नियन्त्रण जमाउन चाहेको भनेर टिप्पणी हुने गर्छ। मध्यपूर्वमा खेल्न इजरायल अमेरिकालाई प्ले ग्राउन्ड भइरहेको
छ। इजरायलको सुरक्षा अमेरिकाका लागि त्यही कारण पनि महत्वपूर्ण मानिन्छ। पछिल्लो समय रुस, इरान र चीनबीच सहकार्य बढिरहेका बेला रणनीतिक रुपमा त्यो अमेरिकालाई टाउको दुखाई बनिरहेको थियो।
किभने अमेरिका मध्यपूर्वमा तेल र ग्याँसमा पकड, इस्रायलको सुरक्षा, आणविक हतियार नियन्त्रण, सत्ता सन्तुलन, र आफ्ना प्रतिस्पर्धीहरूलाई रोक्नका लागि सक्रिय छ। इराकमा २००३ मा भएको आक्रमणको मुख्य कारण यही भएको तर्क गर्ने जमात ठुलो छ।
इरान खमेनीको पारिवारिक जिवनबारे खासै केही बाहिर आएको छैन। ४ छोरा र दुई छोरी रहेको इरानी सन्चार माध्यमहरुले उल्लेख गर्ने गरेका छन्। दुई छोराहरु मौसतफा खमेनी र मौज्तबा खमेनी बढी चर्चित छन्। खमेनीले छोरालाई सुप्रिम लिडरको उत्तराधिकारी बनाउन चाहेको भनेर पनि समाचार आइरहन्छन् तर यसको स्वतन्त्र पुष्टी भने हालसम्म भएको छैन।


