काठमाडौं। बीचमा पर्सियन गल्फ अर्थात समुद्र। पारीपट्टी इरान। समुन्द्रको वारिपट्टी किनारमा लहरै जोडिएका छन् कुवेत, साउदी अरब, कतार र यूएई । पर्सियन गल्फमा टापु देखिने यो ठाउँ बहराइन हो। अब सोमबार साँझ विश्वलाई नै हल्लाएको एउटा घटनातर्फ लागौँ।
उडिरहेका थुप्रै विमानहरु अचानक डाइभर्ट गरिए। एयरपोर्ट पुगेका हजारौँ यात्रुहरु उड्न पाएनन् र अलपत्र परे। इरान-इजरायलबीच चलिरहेको युद्ध अब चाहीँ फैलिएर भयानक बन्छ की भन्ने त्रास एकाएक मच्चियो। किनभने युद्धमै सहभागी नभएको कतारमा इरानले ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो।

कतार, साउदी अरब, बहराइन, यूएईलगातय देशमा विश्वभरबाट आएर श्रमिकहरुले काम गरिरहेकाले कतारमाथीको यो आक्रमणले विश्वको ध्यान तानिएको थियो।
कतार युद्धमा सहभागी नभए पनि इरानले त्यहाँ किन मिसाइल हान्यो त ? त्यसका लागि केहि दिन अगाडिको घटनातर्फ जानु पर्ने हुन्छ।
इजरायलले इरानमा गरिरहेको आक्रमण ठिक भन्दै अमेरिकाले पनि आफु यो युद्धमा जोडिने बतायो। लगत्तै इजरायलसँग पनि सामर्थ्य नभएको बम इरानका आणविक भट्टीहरुमा खसाल्यो।
सबैभन्दा ठुलो चिन्ता नै यही थियो। अमेरिका यो युद्धमा सहभगी भए विकराल अवस्था सृजना हुन सक्ने भन्दै रुस, चिनजस्ता ठुला शक्ति राष्ट्रले चासो व्यक्त गरिरहेका थिए।
इरानले पनि अमेरिकालाई ठुलो क्षति पुग्न सक्ने चेतावनी दिइरहेको थियो। तर अमेरिका रोकिएन। इरानले जवाफी हमला गरे थप आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका थिए। अमेरिका इरानले आक्रमण गर्नेमा सतर्क थियो। उसले मध्यपुर्वसहित विश्वभर रहेका आफ्ना नागरिक र संस्थाहरुका लागि सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै थियो।
सोमबार साँझ इरानले कतारलाई हमला गरेको थिएन, कतारमा रहेका अमेरिकी सेनालाई तार्गेट गरेको थियो। इरानले ब्यालेस्टिङ मिसाइल प्रहार गर्नुअगावै गल्फका कतारसहित थुप्रै गल्फ देशले सेक्युरिटी अलर्ट जारी गरेका थिए। कतारले आफ्नो एयर स्पेस बन्द गरेको थियो। एयर स्पेस बन्द गरेको केही समयमा आकाशमा साइरनहरु बजे।
झिल्काहरु देखिए। विस्फोटका आवाजहरु आए। बहराइन, यूएई, कुवेतमा पनि एयर स्पेस केही समयका लागि बन्द गरियो। अमेरिकी राष्ट्रपति ट्रम्पले तत्कालै इरानी हमलाले क्षति नभएका कारण कुनै जवाफ नदिने बताएका थिए। अमेरिकाले इरानमा आक्रमण गरेपछि मध्यपूर्व खासगरी नेपाली श्रमिकको ठुलो उपस्थिती रहेको कतार, साउदी अरब, यूएई, कुवेत, बहराइनलगायत देशमा कसरी त्रास फैलियो ? यहाँ सविस्तार चर्चा गर्ने छौँ।
कतारको राजधानी दोहाबाट करिब ३० किलोमिटर दुरीमा रहेको छ अल उदिद एयर बेस जुन मध्यपूर्वमा रहेको अमेरिकी सेनाको सबैभन्दा ठुलो बेस हो जहाँ १० हजारभन्दा बढी अमेरिकी सैनिकहरु छन् भने एक सयभन्दा बढी एयरफोर्स विमानहरु छन्।
यही एयर बेसलाई तार्गेट गरेर इरानले मिसाइल प्रहार गरेको थियो। पूर्व जानकारी दिएकाले इरानले सांकेतिक रुपमा मात्र हमला गरेको हुन सक्ने विश्लेषण भइरहेको छ। मध्यपूर्वका थुप्रै देशमा अमेरिकी सेनाका बेसहरु छन् जुन यस क्षेत्रमा युद्ध गर्नुपरे भिड्नसक्ने लेभलमा अमेरिकाले राखेको छ।
इजरायलको सुरक्षादेखि इरानलाई ठेगान लगाउनसम्म यी बेसहरुको महत्व देखिन्छ। मध्यपूर्वमा रहेको तेलको भण्डारमा नियन्त्रणदेखि चीन, भारतजस्ता ठुला देशसँग शक्ति सन्तुलनका लागि पनि यी अमेरिकी सैन्य बेसको रणनीतिक महत्व छ।
इरानसँग सिमा जोडीएको पर्सियन गल्फको पारी पार्टी किनारमा रहेका कुवेत, कतार,साउदी अरब, यूएईलगायत देशमा अमेरिकी सेनाको बेसहरु छन्। इराक र सिरियामा पनि अमेरिकी सेना बसेको छ। आफुले इरानमा आक्रमण गरेपछि इरानले आफ्ना ती देशमा रहेका बेसहरुमा आक्रमण गर्न सक्ने चिन्ता अमेरिकालाई थियो।
मध्यपूर्वमा अमेरिकी सेनाको उपस्थितीलाई बुझ्थ ऐतिहासिक घटनाक्रमहरु थाहा पाउन जरुरी छ। दोस्रो विश्व युद्धको समयदेखि नै अमेरिकी सेनाले मध्यपूर्वमा आफ्नो छिटफुट उपस्थिति देखाउन थालेको थियो।
त्यतिबेला अमेरिकाले साउदी अरबसँग मिलेर त्यहाँ धहरान एयरफिल्ड बनायो। युद्धरत अन्य ठाउँमा सेना र सामग्रीहरु पठाउन यो एयरफिल्ड अमेरिकालाई ठुलो उपलब्धी थियो।
शत्रुबाट हुन सक्ने आक्रमण, तेल उत्पादन र ब्यापारको सुरक्षाका लागि अमेरिकी सेनाको उपस्थिती साउदी अरबका लागि सुरक्षा कवचजस्तै थियो। तत्कालिन सोभियत युनियनको प्रभाव रोक्न साउदी अरब र अमेरिका अझ नजिक भए। उनिहरुबीच साउदी अरबमा सैन्य सहकार्य सुरु भयो। साउदी सेनाले अमेरिकी सेनाबाट प्रशिक्षित हुने अवसर पनि पायो।
पर्सियन गल्फ पारीपर्टी रहेको इरानमा त्यतिबेला प्रधानमन्त्रि मोहम्मद मोस्सादेघको प्रभाव बलियो थियो। राजतन्त्र भएपनि मोस्सादेघ शक्तिशाली थिए। बेलायती नियन्त्रणमा रहेको तेल कम्पनी मोस्सादेघले राष्ट्रियकरण गरेपछि बेलायत चिढिएको थियो। इरान सोभियन संघ नजिक हुन्छ की भन्ने चिन्ता बेलायत मात्र होइन अमेरिकालाई पनि थियो।
अमेरिकी र बेलायत गुप्तचर संस्थाहरुले त्यहाँका राजासँग मिलेर सन् १९५३ मा मोस्सादेघलाई सत्ताच्युत गरे। त्यतिबेला उनिहरुले मोस्सादेघविरुद्ध षड्यन्त्र रचेको, झुटा प्रचारहरु गरेर भ्रम छरेकोजस्ता आरोप लाग्ने गरेको छ। राजा शाह मोहम्मद रेजा पल्लवी निकै शक्तिशाली भए। त्यसपछि स्थापना गरेको गुप्तचर संस्था सभाक विरोधीलाई ठेगान लगाउन प्रभावशाली बन्यो। राजा पल्लवी अधिनायकवादी बनेको, पश्चिमीकरण गरेको, इस्लामिक मुल्य र मान्यतामाथी आक्रमण गरेको जस्ता असन्तुष्टीहरु जनस्तरमा देखिन थालेको थियो। यी सबै काम अमेरिकाको आड र प्रभावमा राजा पल्लवीले गरेको इरानीहरुको बुझाई थियो। असन्तुषुटीको आगो सल्कँदै सन् १९७९ मा आएर त्यहाँ इस्लामिक क्रान्ती भयो र राजा हटाए।
हटाइएका राजालाई अमेरिकाले संरक्षण दिएकोलगायत आरोप लगाउँदै इरानिहरुले अमेरिकी दुतावासमा हमला गरे। त्यहाँ रहेका ५२ जना अमेरिकीलाई ४ सय ४४ दिन बन्दी बनाएका थिए। इरानीहरु अमेरिकालाई ठुलो शुत्र मान्न थालेका थिए।
पछि अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमती गरेपछि ती बन्धकलाई छाडिएको थियो। त्यसयता अमेरिकाले पनि इरानलाई ठुलो शत्रु मान्दै आएको छ। लगत्तै ८ वर्ष चलेको इरान-इराक युद्धमा अमेरिकाले इराकलाई अप्रत्यक्ष साथ दिएको देखिन्छ। यो युद्धमा इरानले बढी क्षति ब्यहोर्यो।
सन् १९९० को गल्फ युद्धका कारण मध्यपूर्वमा अमेरिकी सेनाको प्रभाव अझ बढ्यो। इराकले कुवेत कब्जा गरेपछि त्यसविरुद्ध पश्चिमा राष्ट्र र अमेरिका एक जुट भए। संयुक्त राष्ट्र संघले इराकलाई कुवेत खाली गर्न समय सिमा तोक्यो।
सद्धाम हुसेन नेतृत्वको इराकीले सत्ता नटर्ने संकेत पाएपछि अमेरिकी सेना ठुलो संख्यामा साउदी अरब आएर बस्यो। त्यतिबेला करिब कम्तिमा ५ लाख अमेरिकी सेना इराकसँग भिड्न साउदी अरब आएर बसेका थिए। कुन देशले कसलाई आक्रमण गर्छ भन्न सकिने अवस्था थिएन। त्यो डर साउदी अरबलाई पनि थियो।
अमेरिकी सेनाको उपस्थितीले साउदी अरब पनि ढुक्क भयो। संयुक्त राष्ट्र संघले दिएको समयसिमा सकिएको २ दिनपछी सन् १९९१ जनवरी १७ तारिखमा अमेरिकी सेनाले हवाई आक्रमण गर्यो। झन्डै ६ सातासम्म चलेको युद्धपछि इराक कुवेतबाट निस्किएको थियो। त्यसपछि कुवेतमा अमेरिकी सेनाहरु बेस बनाएर बसे। त्यसपछि अमेरिकी सेनाको उपस्थितीले आफ्नो सुरक्षा बलियो हुने मध्यपूर्वका देशहरुले बुझे। अमेरिकालाई प्रभाव बढाउन अझ सजिलो बन्यो।
इरानसँग २ सय किलोमिटर दुरीमा रहेको कतारसँऊ अमेरिकाले सन् १९९२ मा रक्षा सम्झौता गर्यो। यसले अमेरिकी सेना कतारमा आएर सैन्य फौज राख्न र अभ्यास गर्न सक्षम बन्यो। सन् १९९६ मा कतारले अल उदिद एयर बेस बनायो। सन् २००१ को अन्त्यतिर अमेरिकी सेना त्यहाँ आएर बस्न थाल्यो। खासगरि सेप्टेम्बर ११ को आक्रमणपछि अफगानिस्तानमा लड्नका लागि अमेरिकी सेना अल उदिदमा आएर बसेको बताइन्छ।
कतारमा बसेपछि अमेरिकालाई मध्यपूर्वमा शिघ्र प्रतिक्रिया दिन सक्ने, आतङ्वादविरुद्धको कारबाही चलाउन सक्ने आधार बलियो बन्यो। इरान, इराक, सिरियाजस्ता देशविरुद्ध लड्नका लागि कतारको सैन्य बेस अमेरिकालाई ठुलो महत्वको थियो। अर्कातर्फ अमेरिकी सेना बसेपछि छिमेकीहरुसँग कतार कन्फिडेन्ससहित प्रस्तुत हुन सक्यो। मध्यपूर्वका अन्य देशहरु पनि अमेरिकी सेनासँग सैन्य सहकार्य गरिरहेका थिए। सन् १९९४ मा अमेरिका र यूएईबीच सैन्य सहयोग सम्बन्धी सम्झौता भयो। यसबाट अमेरिकी सेना यूएईमा आएर बस्ने वातावरण बन्यो। त्यहाँ अल धाफ्रा एयर बेस बन्यो जसमा ३५ सयभन्दा बढि अमेरिकी सैनिक र युद्ध विमानहरु छन्। यूएई इरानबाट झन्डै ७० किलोमिटर मात्र दुरीमा पर्छ
यता पहिल्यैदेखि नजिक रहेको बहराइनमा पनि अमेरिकी नौ सेना आएर बस्न थाल्यो सन् १९९५ देखि। सन् १९७१ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै बहराइनसँग अमेरिका नजिक थियो। विभिन्न सहयोगहरु गर्दै आएको थियो।
बहरानको सैन्य बेस अमेरिकाका लागि क्षेत्रीय सुरक्षा र तेल मार्गको सुरक्षाका लागि महत्वपूर्ण छ। यहाँ अमेरिकी सेनाका युद्धपोत, पनडुब्बी, गस्ती जहाजहरु छन्। त्यसबाट खाडीको जल सेनाको निगरानी, युद्धपोत परिचालन, आपतकालिन प्रतिक्रियाजस्ता कामहरु अमेरिकी सेनाले गर्न सक्छ।
मध्यपूर्वमा तनाव र अमेरिकाको उपस्थितीबारे कुरा गर्दा छुटाउनै नहुने देश हो इजरायल हो जो निरन्तर अरब राष्ट्रहरुसँग, ती देशमा रहेका विद्रोही समूहसँग लड्दै आइरहेको छ जसलाई अमेरिकाको ठुलो साथ सपोर्ट छ।
इजरायल सन् १९४८ मा प्यालेस्टाइनबाट छुट्टिएपछि पहिलो मान्यता दिने राष्ट्र अमेरिका थियो। मध्यपूर्वमा तत्कालिन सोभियत युनियनको प्रभाव कम गर्न अमेरिकाका लागि इजरायल गतिलो ठाउँ थियो। यी दुई देशबीच स्ट्राटेजिक कोअप्रेसन एग्रिमेन्ट भयो जसबाट उनिहरु सैन्य अभ्यास, अनुसन्धान र गुप्तचर जस्ता कुराहरुमा सहकार्य गर्न थाले।
इजरायलको आईरन डोमजस्तो शसक्त मिसाइल प्रणाली तयारीमा अमेरिकाले सहयोग गर्यो। अमेरिकाले वार्षिक ठुलो मात्रामा सैन्य सहयोग इजरायललाई गर्छ। इजरायल अहिले पनि हमास, हिजबुल्लाह,हुथीजस्ता समूहसँग भिडिरहेको छ जसलाई इरानले चलाइरहेको दावी इजरायल र अमेरिकाको छ। यता साउदी अरब, कतार, यूएई, बहराइनजस्ता देशसँगको सैन्य सहकार्यले अमेरिकालाई इजरायलको सुरक्षामा सजिलो बनेको छ।
सन् २००३ मा इराकमाथी हमला हुँदा अमेरिकाका लागि मध्यपूर्वका कुवेत लगायत देशमा रहेका बेस उसका लागि महत्वपूर्ण बनेका थिए। कुवेतमा अहिले पनि १३ हजार अमेरिकी सैनिक रहेको बताइन्छ।


