पशुपतीनाथ आर्यघाटमा जलाइरहेको शवबाट मासु झिकेर विक्री गरेको घटनाले केही साताअघि सनसनी मच्चियो।
गत साउन २३ गते अपरान्ह शव जलाउन खटिएका पशुपती विकाश कोषका कर्मचारीले चिताबाट मासु झिकेको भन्दै मलामीहरुले हल्लाखल्ला गरेका थिए। यो निकै संवेदनशील विषय थियो। शवबाट मासु झिकेर विक्री गरेको, सोच्नै नसक्ने विषय थियो। त्यो पनि पशुपती आर्यघाटमा।

प्रहरीले तत्कालै अनुसन्धान सुरु गर्यो। शव जलाउन खटिएका गणेशप्रसाद ढकाल भनिने जिवानन्द ढकाल र उनका सहयोगी विनायक मैनालीलाई प्रहरीले नियन्त्रणमा लियो। उनिहरुले दुई नम्बर घाटमा जलिरहेको शवबाट मासु झिकेर विक्री गरेको, त्यसरी विक्री गरेबापत पैसा लिएको मलामीहरुले आरोप लगाएका थिए।
त्यसपछि प्रहरीले शवबाट झिकिएको भनिएको मासु खरिद गर्नेको खोजी गर्यो। बुढानिलकण्ठबाट रामनन्दन ठाकुर पक्राउ परे। यसपछि प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउने अनुमान र अपेक्षा गरिएको थियो। झन्डै तीन सातापछि यो घटनाको अनुसन्धान प्रहरीले सिध्याएको छ।
शव जलाउन खटिएका गणेशप्रसाद ढकाल भनिने जिवानन्द ढकाल र उनका सहयोगी विनायक मैनालीसहित शवबाट झिकिएको मासु खरिद गरेका भनिएका रामनन्दन ठाकुर र उनीसँगै रहेका मिश्रीलाल यादबविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको छ। उनिहरुविरुद्ध धर्म सम्बन्धी कसुर गरेको भनेर एक वर्ष सम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय माग गरिएको छ।
गणेशप्रसाद ढकालले जलिरहेको शवबाट हड्डी झिकेको स्विकारेका छन् भने रामानन्दन ठाकुरले ढकालसँग जलिरहेको शवको खरानी खरिद गरेको बताएका छन्। रामनन्दन ठाकुरले किन जलिरहेको शवको अस्तु खरिद गरेका थिए, शव जलाउन खटिएका गणेशप्रसाद ढकालले के यसअघी पनि जलिरहेको शवबाट त्यसरी झिकेका थिए ? प्रहरीको अनुसन्धानलाई टेकेर हामीले यो भिडियो तयार गरेका छौँ।
६१ वर्षीय गणेशप्रसाद ढकालको बयानअनुसार उनी ४० वर्षदेखि पशुपती आर्यघाटमा शव जलाउने काम गर्दै आएका छन्। साउन २३ गते दिउँसो २ बजे आफ्नो पालो आएपछि उनी दुई नम्बर घाटमा शव जलाउन पुगेका थिए। उनले चिता तयार गरे। शव जलाउन सुरु भयो। लास झन्डै आधा जलेको थियो। पशुपती मन्दिरको पूर्वी गेट मुनी बागमती नदि किनारमा उभिरहेका एक व्यक्तीले उनलाई हातको इशाराले बोलाए। ढकालका अनुसार ती व्यक्तीलाई त्यसअघि उनले चिनेका थिएनन्।
ती व्यक्ति रामनन्दन ठाकुर थिए। किन बोलाएको भन्दै रामनन्दन ठाकुरको नजिक पुगे। ठाकुरले आफुलाई पुजा गर्नका लागि खरानी र हड्डी चाहिएको छ भनेर त्यहाँबाट झिकिदिन अनुरोध गरे। ढकालको बयानअनुसार सुरुमा उनले मानेनन्। तर ठाकुरले जबर्जस्ती ४ सय रुपैयाँ ढकाललाई दिएर काम गर्न दबाब बढाए। ढकाल जलिरहेको जितातर्फ लागे। उनका अनुसार एक चौथाई शव जल्न बाँकी रहँदासम्म उनले ठाकुरको काम गरेनन्।
तर त्यतिबेलासम्म ठाकुर बारम्बार उनको नजिक आएर अनुरोध गरे। उनले सहयोगी विनायकसँग सल्लाह गरे। विनायकले सहमती जनाए। ढकालका अनुसार उनले शवबाट खरानी र हड्डी तल खोलातर्फ धकेल्ने र विनायकले बट्टामा राखेर ठाकुरलाई लगेर दिने सल्लाह भयो।
त्यसैअनुसार विनायकले कपुरको बट्टामा राखेर खरानी र हड्डी ठाकुरलाई पुर्याईदिएको बयान ढकालले दिएका छन्। ढकालले यसअघि कहिल्यै यसरी अस्तु ननिकालेको दावी गरेका छन्। ठाकुरले जबर्जस्ती भनेर मात्र आफु बाध्य भएको उनको भनाई छ।
यता खरानी र अस्तु किनेको भनेका रामनन्दन ठाकुर चाहीँ के भन्छन् त ? प्रहरी अनुसन्धानमा ठाकुरले बताएअनुसार उनी २५ वर्षदेखि काठमाडौंमा फर्निचर व्यवशाय गर्दै आएका छन्। उनी पशुपतीनाथ मन्दिर दर्शन गर्न नियमित आउने गरेकामा घटना हुनुभन्दा झन्डै २ महिनाअघि उनले एक जना जोगी बाबालाई भेटेका थिए। त्यतिबेला ती जोगी बाबालाई उनले हात देखाएका रहेछन्।
जोगी बाबाले हात हेर्दै भविस्यमा ठुलो संकट आउन लागेको बताएपछि ठाकुरले त्यसबाट बच्ने उपाय सोधेछन्। जोगीले उपाय भनिदिएछन्। ठाकुरका अनुसार जोगीले उनलाई मानिस जलाएको खरानी लिई पूर्वतर्फ फर्किएर पुजा गर्नु र बागमतीमा बगाउनु भनेका थिए। त्यसो गरे संकट टर्ने जोगिले भनेका रहेछन्।
ठाकुर साउन २३ गते पशुपती आर्यघाट आएर जलिरहेको शवबाट खरानी लिने उपाय खोजिरहेका थिए। त्यहीक्रममा दुई नम्बर घाटमा रहेका गणेशप्रसाद ढकाललाई देखेर उनले बोलाएका थिए। ढकाललाई उनले मानिस जलाइसकेपछिको खरानी थोरै चाहिएको बताए।
त्यतिबेला ढकालले आफुलाई एक हजार रुपैयाँ चाहिन्छ भनेको ठाकुरले बयानमा उल्लेख गरेका छन्। ४ सय रुपैयाँ मात्र छ भनेपछि ढकालले केही बेर कुर्न लगाएर अस्तु दिएको ठाकुरको भनाई छ। त्यतिबेला शवको खरानी लिँदा केही समस्या हुँदैन नी भनेर आफुले ढकाललाई सोधेको र ढकालले केही हुँदैन यसअघि पनि धेरैले यसरी अस्तु लगेको जवाफ दिएको ठाकुरले बयान दिएका छन्। उनले खरानी पाएपछि त्यसलाई त्यहि दिन टाउकोमा वरिपरि घुमाई बागमतीमा बगाई दिएको पनि उल्लेख गरेका छन्।
ठाकुरको बयानबाहेक ढकालले यसअघि पनि यसरी खरानी झिकेर विक्री गर्थे भन्ने अनुसन्धानले पुष्टी गर्न सकेको छैन। ठाकुरले आफैले बताएको बाहेक उनले अन्य प्रयोजनका लागि उक्त खरानी र हड्डी लिएका थिए भनेर पनि प्रहरीले पुष्टी गर्न सकेका छैन। कुनैपनि अभियोगका आरोपीहरुको बयान उनिहरुले जेजे भन्छन् त्यसैमा आधारित हुन्छन्।
यदी झुटो बोलेमा अन्य प्रमाणले त्यसलाई गलत सावित गर्छन् भन्ने मान्यता राखिन्छ। यो घटनामा जलिरहेको शवबाट खरानी र शवको खरिद विक्री भएको आरोपिहरुले स्विकारेका छन्। तर यसअघि पनि यस्तो काम हुन्थ्यो भनेर पुष्टी हुन सकेको अवस्था छैन।


