काठमाडौं। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभाग लिपुलेकका विषयमा चीन र भारतले गरेको सम्झौतालाई गम्भिरतापूर्वक उठाएका छन्।
उनले शनिबार राष्ट्रपति सी जिन पिङसँगको भेटमा लिपुलेक नेपालको रहेको सम्झाएको नेपाली अधिकारीहरुले बताएका छन्। केही साता अघि लिपुलेक भएर व्यापारिक सिमा खोल्ने चीन र भारतले सम्झौता गरेका थिए।

नेपाली भूभाग भएर हुने उक्त व्यापारमा चीन र भारतले गरेको सम्झौताले त्यसयता राजनीति तातेको छ। दुई ठुला देश चीन र भारतले नेपाललाई हेपेको भनेर टिप्पणी भइरहेको छ।
नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राख्नुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए।
सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको र यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने नेापलको विश्वास रहेको प्रधानमन्त्री ओलीले सीसामु कुरा राखेका थिए।
उक्त भेटमा के भएको थियो भन्नेबारे चिनियाँ अधिकारीहरुले केही स्पष्ट पारेका छैनन्। ओलीले लिपुलेकको विषय उठाएका बारे चिनियाँ पक्षले केही स्पष्ट पारेको छैन। नेपाली अधिकारीहरुले भने चीनले आफुले कुनै देशको पक्ष नलिने धारणा राखेको बताइरहेका छन्।



