काठमाडौं। चीनको औपचारिक भ्रमण सकेर बुधबार प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किउका छन्। उनी भदौ १४ गते चीन गएका थिए।
साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन उनी त्यहाँ पुगेका थिए। त्यसक्रममा चीनको भिक्ट्रि परेडमा पनि ओली सहभागी भए।

ओलीले चीनका राष्ट्रपति सी जिनफिङ र रुसका राष्ट्रपती भ्लादिमिर पुटिनलगायतसँग भेट गरे। थियानजिनमा सीसँग भएको भेटमा दुई पक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयहरूमा खुला र हार्दिकतापूर्ण छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
ओलीले नेपालको विकास प्रयासमा पुर्याउँदै आएको निरन्तर सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त दिए । साङ्घाई सहयोग संगठनको शिखर सम्मेलनको सफलताको कामना गदै सो संस्थामा नेपालको पूर्ण सदस्यताको समर्थनका लागि चिनियाँ राष्ट्रपतिसँग अनुरोध पनि गरे ।
बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहमति भएका लगायत विभिन्न परियोजनाहरूको शीघ्र कार्यान्वयन हुनेमा आशा व्यक्त गर्दै उनले रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता अभिवृद्धि तथा जनस्तरको सम्बन्ध सुदृढीकरण जस्ता क्षेत्रहरूमा सहयोगका लागि अनुरोध गरेका थिए।
नेपालको भूभाग लिपुलेक नाका मार्फत् सीमा व्यापार गर्ने सम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति ओलीले आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने कार्यमा चीनको सहयोग रहने बताउँदै चीनले संयुक्त राष्ट्रसंघ र साङ्घाई सहयोग संगठन लगायतका बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने पनि उल्लेख गरे।
साङ्घाई सहयोग संगठनका सदस्य राष्ट्रहरू, पर्यवेक्षक राष्ट्र, संवाद साझेदारहरू तथा अन्य अतिथि समेत गरी २४ मुलुकका राष्ट्र/सरकार प्रमुखहरू उपस्थित शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुपक्षीयताको सुदृढीकरण, क्षेत्रीय सहयोग प्रवर्द्धन तथा दिगो विकास हासिल गर्ने लगायतका विषयमा विचारहरू प्रस्तुत गरेका थिए।
रूसका राष्ट्रपति पुटिनसँगको भेटवार्तामा दुवै नेताहरूले नेपाल–रूस सम्बन्धलाई अझ सुदृढ तुल्याउने र व्यापार, लगानी, शिक्षा तथा संस्कृतिका साथै हवाई सम्पर्कका क्षेत्रमा परस्पर लाभदायक सहयोग प्रवर्द्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै, ओलीले रुसका राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरे।



