काठमाडौं। नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेको छ। यूएईको शारजहा क्रिकेट मैदानमा भएको दोस्रो खेलमा ९० रनको जित निकाल्दै नेपालले एक खेल बाँकी रहँदै शृंखला जितेको हो।
नेपालले पहिलोपटक टेस्ट टिमसँग टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको हो। त्यसक्रममा नेपालले टेस्ट टोलीलाई पहिलोपटक हराउने र टेस्ट टिमसँग पहिलो शृंखला जित्ने ऐतिहासिक सफलता पनि प्राप्त गरेको छ। पहिलो खेलमा नेपालले १९ रनको जित हात पारेको थियो।

दोस्रो खेलमा नेपालले हात पारेको ९० रनको जित टेस्ट टिममाथी एसोसिएटले हात पारेको अहिलेसम्मकै सबैभन्दा फराकिलो (रन अन्तरले) हो। पहिला ब्याटिङ गरेको नेपालले एक सय ७४ रनको लक्ष्य दिएको थियो।
नेपालका लागि आसिफ शेखले ६८ र सन्दीप जोराले ६३ रन बनाए। वेस्ट इन्डिजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्र जोड्न सक्यो। नेपालका मोहम्मद आदिल आलमले ४ र कुशल भुर्तेलले ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, करन केसी र ललित राजबंशीले पनि एक एक विकेट हात पारे।
४ ओभरमा २४ रन खर्चिएका आदिल झन्डै ३ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका हुन्। उनी यसबीचमा म्याच फिक्सिङ विवादमा परेका थिए। यो खेलमा कुशल भुर्तेलले ४ वटा क्याच पनि लिए।


