काठमाडौं। मंगलबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले निकै लामो स्टाटस लेखे। उनले जे लेखे त्यो केही समय पहिल्यैदेखि अनुमान र अपेक्षा भइरहेको थियो।
तर बालेनले लेखिरहेका थिएनन्। कुनै मिडियामा गएर बोल्ने वा सार्वजनिक मन्चबाट स्पष्ट पार्ने खालको उनको नेचर विगतमा नदेखिएकाले पनि सामाजिक सन्जालबाटै बालेनले केही लेख्लान् भन्ने अनुमान भइरहेको थियो। तर मंगलबार साँझ बालेनले आफुखुसी लेखेका होइनन्।

अझ भनौँ उनका लागि परिस्थिती नै त्यस्तै आईपर्यो। लेख्नै पर्ने भयो। बाध्यता आइलाग्यो। किनभने केही घण्टा अघि मात्र बालेनविरुद्ध नेकपा एमालेनिकट विधार्थी नेताहरु हत्या र लुटपाटको जाहेरी लिएर प्रहरीकहाँ पुगेका थिए। यसले बालेनलाई अप्ठेरो अवस्थामा पुर्याउन सक्ने थियो। केही बोल्नैपर्ने अवस्थामा बालेन पुगेका थिए।
सेप्टेम्बर ८ र ९ तारिखमा भएको जेन जी आन्दोलन दौरान भएका लुटपाट, आगजनी र व्यक्ती हत्यामा बालेनसहित हाल जेन जी अगुवा भएर हिँडिरहेका सुदन गुरुङलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीका विधार्थी नेताहरुको छ।
एक हिसाबले यी जेन जी अगुवामाथी काउन्टर अट्याक थियो। एक दिन अघि मात्र जेन जी अगुवाहरुले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने ट्रेन्ड सामाजिक सन्जालमा चलाएका थिए।
उनिहरुले काठमाडौं प्रहरी परिसर पुगेर जाहेरि पनि दिन खोजे। तर प्रहरीले लिन मानेन। जेन जी आन्दोलनमा भएका घटनाको जाँचबुझ गर्न गठिन आयोगले छानबिन गरिरहेको भन्दै तत्काल प्रहरीको क्षेत्राधिकार नपर्ने जवाफ उनिहरुलाई दिइयो।
त्यसपछि सडकबाटै देखाई दिने भन्दै सुदन गुरुङलगायत जेन जी अगुवाहरु त्यहाँबाट फर्किएका थिए। यस्तो धम्किपछि सुरक्षा निकायहरु एकाएक हाइ अलर्ट भए। नेपाल प्रहरीका आईजिपी चन्द्रकुवेर खापुङ आफ्ना केही वरिष्ठ अधिकारीहरुलाई लिएर गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगे। त्यहाँ जेनजीले लिएर आएको जाहेरी र उनिहरुले दिएको चेतावनीबारे गृहमन्त्रीलाई ब्रिफिङ गरियो।
त्यसपछि गृहमन्त्री अर्याल प्रधानमन्त्री शुसिला कार्कीलाई भेट्न पुगे। त्यहाँ चारवटै सुरक्षा निकायका प्रमुखहरु पनि जम्मा भए। तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भयो। सुरक्षा निकायका प्रमुखहरुले भोलीका दिनमा बालेन र सुदन गुरुङविरुद्ध जाहेरी आए के गर्ने भन्दै प्रधानमन्त्री शुसिला कार्कीलाई संवेदनशिल भएर निर्णय गर्न भनेका थिए।
जेन जी आन्दोलनपछि बनेको भएकाले यो सरकारमाथी जेन जी अभियन्ताहरु हावी हुने वा यो सरकारले जेन जी अभियन्ताहरुलाई कन्भिन्स गर्न सक्ने टिप्पणी हुनु स्वभाविक हो। सम्भावित सुरक्षा अवस्थालाई लिएर सुरक्षा निकायहरु यतिबेला बढी सतर्क देखिन्छन्।
यतिबेला किन बालेनमाथी तत्कालिन सत्ता चलाएका दल तथा उनिहरुका नेता कार्यकर्ताहरु खनिइरहेका छन् र यो सबै उनको योजनामा भएको आरोप लगाइरहेका छन् त्यसलाई बुझ्न जेनजी आन्दोलन र त्यसको आसपास पुग्नुपर्ने हुन्छ।
सेप्टेम्बर ८ तारिखमा देशभर जेनजीहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिए। हजारौँ जेनजीहरु निशेधित क्षेत्र तोड्दै बानेश्वरस्थित संसद भवन अगाडि जम्मा भए। उनिहरु संसद भवन प्रवेश गर्न खोजे। त्यसक्रममा प्रहरीले अन्धाधुन्ध गोली चलायो। पहिलो दिनमै देशभर कम्तिमा १९ जनाको ज्यान गयो र सयौँमाथी गोली लाग्यो। धेरै गम्भिर अवस्थामा पुगे। प्रहरीबाहेक अरु कसैले पनि गोली चलाएको सरकारले दावी गर्यो।
त्यस दिन साँझ बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आतङ्कवादी भन्दै स्टाटस लेखेका थिए। त्यसै दिन गृहमन्त्री लेखकले राजिनामा दिए। भोलीपल्ट आन्दोलन थप उर्लियो। आन्दोलनकारीहरुले नियन्त्रण गुमाए। नेताका घर घरमा आक्रमण, तोडफोड र आगजनी भयो।
प्रधानमन्त्री ओलीले राजिनामा दिए। दिउँसो प्रदर्शनकारीहरुले संसद भवन प्रवेश गरेर आगो लगाए। त्यसपछि सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत महत्वपूर्ण सबै निकायका भवनमा आगो लगाइयो। प्रहरी कार्यालयहरु ध्वस्त पारिए। त्यस दिन साँझ व्यापारिक कम्प्लेक्सहरुमा लुटपाट मच्चियो। जेनजी अगुवाहरुले आन्दोलनमा घुसपेठ भएको दावी गरे।
त्यस दिन दिउँसो सवा ३ बजे बालेनले प्रधानमन्त्रीको राजिनामा आइसकेको भन्दै संयमित हुन सामाजिक सन्जालमार्फत आह्वान गरेका थिए।
उनले अब जेनजीको नेतृत्वमा सरकार बन्ने र त्यसका लागि सेना प्रमुखसँग वार्ताका लागि तयार हुन भनेपछि यो आन्दोलन बालेनकै डिजाईनमा सन्चालन भएको आशंकालाई थप बल पुग्यो। आन्दोलनका घाइतेको उपचार र खानपिनको व्यवस्थादेखि मृतकलाई परिवारको जिम्मा लगाउने कामसम्म बालेन नेतृत्वको काठमाडौं महानगरपालिका सक्रिय देखियो। यस्तो भूमिकामा काठमाडौं महानगरपालिका यसअघि कहिल्यै देखिएको थिएनँ।
नयाँ सरकार गठनमा पनि बालेनको मुभमेन्ट देखियो। उनि नै किङ मेकरका रुपमा चर्चा भए। जेनजीले माग गरेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा पछाडि बालेन नै रहेको टिप्पणी हुने गरेको छ। त्यसो त आन्दोलनपछि बन्ने नयाँ सरकारको प्रमुखमा बालेनको चर्चा पनि भएको थियो। तर उनलाई देखिएन। अझ भनौँ उनि अगाडि सरेनन्। प्रधानमन्त्री बन्ने इच्छा देखाएका धरानका मेयर हर्क साङपाङ पछिल्लो समय बालेनमाथी तथानाम गाली गरिरहेका हुन्छन्। आफु बालेनकै कारण प्रधानमन्त्री बन्न नपाएको बुझाई उनको देखिन्छ।
पूर्व प्रधान न्यायधिश सुशिला कार्कीको नेतृत्वमा सरकार बनेपछि बालेनलाई हर्कले विदेशी एजेन्ट भन्न थालेका थिए। त्यसपछि हर्कलाई सम्बोधन गरेर बालेनले लेखेको स्टाटस त भाइरल नै बनेको थियो। यसले जेन जी आन्दोलन र त्यसपछि सरकार गठनमा बालेनको प्रभाव थियो भनेर भन्न सकिने थुप्रै आधारहरु देखिएको छ। पूर्व प्रधान न्यायधिश सुशिला कार्की नेतृत्वको सरकारले आगामी फागुनमा आम निर्वाचन गर्नुपर्ने म्यान्डेट पाएको छ। प्रजातन्त्रमा सत्ता चलाउन चुनावी प्रतिस्पर्धा हुन्छ र हुनुपर्छ। आन्दोलनपछि अब चुनाव जित्न जेनजीसामु चुनौती छ। यो त एउटा प्रोसेसको कुरा भयो।
भ्रष्टचारको अन्त्य र सुशासनको माग राखेर जेनजीहरुले आन्दोलन गरेका थिए। आन्दोलनको नेतृत्व यही समूह वा व्यक्तीले गरेको भनेर बाहिर देखिने गरी कोही पनि थिएन। आज पनि जेनजीका अनेकन समूहहरु छन्। आन्दोलनपछि नयाँ सरकार बन्यो। जेनजीहरुले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको मागलाई जोडतोडसाथ उठाए। साथै अर्को माग पनि उठ्यो। जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने प्रधानमन्त्री, गृहमन्त्रीलाई पक्राउ गरेर अनुसन्धान हुनुपर्छ।
संलग्न सबैमाथी तत्कालै कारबाहि हुनुपर्ने माग जेनजीहरुले राखे। सरकारले घटनाको छानबिनका लागि जाँचबुझ आयोग बनाइ सकेको थियो। यता प्रहरीले तोडफोड र आगजनीमा संलग्नहरुलाई पक्राउ गर्न थाल्यो। गृहमन्त्रालयले जाँचबुझ आयोग बनिसकेकाले घटना सम्बन्धमा कसैलाई पक्राउ नगर्न सूचना निकाल्यो। त्यस सूचनाको चौतर्फ विरोध भयो। आन्दोलनका नाममा भएको लुटपाट र आगजनीमा संलग्नहरुलाई कारबाही गर्न आयोगको प्रतिबेदन कुर्न नपर्ने आवाजहरु उठे। यता जेनजी अगुवाहरुले पनि गोली चलाउने र गोली चलाउन आदेश दिनेलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरिरहेका छन्।
यहीबीचमा जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखकलगायतको पासपोर्ट रोक्का गर्न पत्राचार गरिसकेको छ। अपराधमा संलग्नहरुलाई कारबाही गर्न प्रहरीले आफ्नो प्रतिबेदन कुर्न नपर्ने पनि उसले हालै स्पष्ट पारेको छ।
जाँचबुझ आयोगको विज्ञप्ती र जेनजी अगुवाहरुले चालिरहेका कदमले तत्कालिन सत्तामा रहेका दलहरु आँत्तिएको देखिन्छ। खासगरी एमालेले आफ्ना शीर्ष नेतालाई पक्राउको प्रयाश नगर्न भनिरहेको छ। एमाले नेता महेश बस्नेत सेप्टेम्बर ९ तारिखमा भएको आगजनी, तोडफोड र लुटपाटको योजनाकार बालेन र सुदन गुरुङ भएको आरोप लगाइरहेका छन्।
यतिबेला बालेनले खेपेको सबैभन्दा ठुलो आरोप : सिंहदरबार जलाउन उनले भूमिका खेलेका छन् भन्ने छ। तत्कालिन प्रधानमन्त्री ओलीले हालै बालेनकै योजनामा सिंहदरबार जलेको घुमाउरो पारामा आरोप लगाए। आरोपका दुईवटा आधार देखिन्छन्। कुनै समय उनले सिंहदरबार जलाई दिन्छु भनेर सामाजिक सन्जालमार्फत धम्की दिएका थिए। त्यतिबेला उनले त्यसो भन्नु र अहिले आन्दोलनकारीले सिंहदरबार जलाउनुबीच सम्बन्ध रहेको बालेन विरोधीहरु आरोप लगाइरहेका छन्।
अर्को आधार चाहीँ जलिरहेको सिंहदरबारको आगो निभाउन बालेनले समयमा महानगरको दमकल नपठाएको भन्ने छ। खासगरी सिंहदरबारलगायत महत्वपूर्ण सार्वजनिक सम्पत्तीमा लागेको आगो निभाउन दमकल नपठाएको भनेर बालेनको घटनापछि आलोचना हुने गरेको छ। आलोचना बढेसँगै बालेनले सामाजिक सन्जालमार्फत काठमाडौं महानगरपालिकाले गरिरहेका विकाश निर्माणका कामहरु नियमित देखाइरहेका थिए। सायद उनले डाइभर्ट गर्न खोजिरहेका थिए।
सिंहदबार आफैले जलाएको जसरी एउटा समूहले न्यारेटिभ्स बनाउन थालेपछि बालेनले मंगलबारको स्टाटस लेखेका छन्। उनले स्टाटसमा भिडका कारण समयमा दमकल पुर्याउन नसकिएको तर साँझ सवा ८ बजे पुगेर निभाउन थालेको भन्दै भिडियोसमेत राखेका छन्। उनले विना तथ्य र डाटाको विश्लेषण नगरी निष्कर्श निकाल्ने विश्लेषक र भ्रम फैलाउनेहरुसँग सावधान रहन पनि अपिल गरेका छन्। यद्यफी आम मानिसमा भय, भ्रम र प्रश्न उठेको भने उनले स्विकार गरेका छन्।
जेनजीले उठाएका मुद्धाहरुमा सरकार अब कसरी अगाडि बढ्छ त्यो सँगै आन्दोलनमा भएका घटनासँग जोडेर बालेन र सुदन गुरुङविरुद्ध तत्कालिन सरकारमा रहेका दलका नेता कार्यकर्ताहरुको आक्रामक गतिविधि पनि आगामी दिनमा पेचिलो बन्ने देखिन्छ।


