काठमाडौं। बाराको निजगढबाट ठ्याक्कै एक घण्टा २ मिनेटमा काठमाडौं आईपुग्ने बाटो यतिबेला नेपाली सेनाले बनाइरहेको छ जसलाई तराई काठमाडौं जोड्ने फास्ट ट्रयाक भनिन्छ। झन्डै ७१ किलोमिटरको यो बाटोलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाएको थियो।
यो बाटोले तराईबाट काठमाडौं आईपुग्न लाग्ने घण्टौँको समयलाई ह्वात्तै छोट्याउने छ। यति मात्र होइन आर्थिक क्षेत्रमा समेत यो बाटोले ठुलो फड्को मार्न भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सरकारले यो बाटो निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो, २०७४ सालमा। विविध कारणले तोकिएको समयमा यो तयार भएन। नेपाली सेनाले २०८३ चैतसम्म यो आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ। यो बाटो तराई क्षेत्रमा २७ मिटर र पहाडी क्षेत्रमा २५ मिटर फराकिलो हुने छ।
पहाडलाई विभिन्न ठाउँमा छेडेर बाटो निकालिएको छ। भिर पाखा हुँदै बाटो बनाइएको छ। डाडा डाडालाई पुलहरुले जोडिएको छ। यतिबेला फास्ट ट्रयाकमा बनाइएको एउटा पुल चर्चामा छ। ८१ मिटर उचाईको पुल सुरुङ मार्गसँग जोडिएको छ। मकवानपुरको जितपुर खोलामाथी बनेको यो पुल २ सय ७५ मिटर लामो छ।
यति अग्लो उचाईमा यसअघी नेपालमा पक्की पुल बनेको थिएन। यहाँ समानान्तर दुईवटा पुल छन् किनकी सुरुङ मार्ग सकिएलगत्तै यी पुल सुरु हुन्छन्। लेनडाँडामा बनेका करिब १७ सय मिटर लामो दुईवटा समानान्तर सुरुङसँग यी पुलहरु जोडिएका छन्। पुल सकिएलगत्तै थोरै जमिनको बाटो आउँछ। त्यसपछि लगत्तै अर्को पुल सुरु हुन्छ। चालिसे खोलामा बनेको यो पुल ७३ मिटर उचाईमा बनिरहेको छ। यो पुल २ सय ९६ मिटर लामो हुने छ।
फास्ट ट्रयाकमा बन्ने झन्डै १० किलोमिटर दुरीका ८९ वटा पुलमध्ये यही नै सबैभन्दा लामो पुल हो। यसमा पनि दुईवटा पुल समानान्तर रुपमा बनिरहेका छन् किनकी पुल सकिने वित्तिकै फेरी सुरुङ मार्ग सुरु हुन्छ। धेद्रे सुरुङ मार्गमा पनि करिब १७ सय मिटर लामा दुईवटा समानान्तर सुरुङ रहेका छन्। धेद्रे र लेनडाडा दुवै सुरुङ मार्गको ब्रेक थ्रु भइसकेको छ। फ्रास्ट ट्रयाकमा झन्डै १० किलोमिटर दुरीका ७ वटा सुरुङ मार्ग रहेका छन्।
दुईवटा ठुलो सुरुङ मार्गलाई जोड्ने पुल भएकाले पनि ८१ मिटर उचाईको जितपुर खोलाको पुल पहिल्यैदेखि चर्चामा थियो। यसलाई २०७८ अन्त्यतिरबाट बनाउन थालिएको हो। अबको एक महिनाभित्र यो पुल तयार हुने बताइएको छ।
यो पुल स्पेसल ब्रिज क्याटोगोरीमा पर्छ। फ्रि क्यान्टिलिभर म्याथड अर्थात एफसीएम प्रविधिबाट यो पुल निर्माण गरिएको छ। फ्रास्ट ट्रयाक निर्माणको एउटा महत्वपूर्ण सफलताका रुपमा यो पुल निर्माणलाई लिइएको छ।



